बेनी नगरपालिकामा सुन्तलाको आम्दानीले आत्मनिर्भर एकल महिला - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
विचार

बेनी नगरपालिकामा सुन्तलाको आम्दानीले आत्मनिर्भर एकल महिला

म्याग्दी, पुस ९ 

   म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले दुई वर्षको सुन्तला आम्दानीबाट पक्की घर निर्माण पूरा गर्ने चरणमा पुग्नुभएको छ। गत वर्ष बिक्री गरेको सुन्तलाबाट घर निर्माण थाल्नुभएकी उहाँ यस वर्षको उत्पादनबाट रङरोगनसहित अन्तिम काम सक्ने तयारीमा हुनुहुन्छ।

2-1766575372.jpg
    ७२ वर्षीया कर्णकुमारीले गत वर्ष सुन्तला बिक्रीबाट प्राप्त करिब १५ लाख रुपैयाँ र आफ्नै केही बचत खर्चेर ढलान घर निर्माण सुरु गर्नुभएको थियो। यस वर्ष उहाँको बारीमा १० लाख रुपैयाँभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ। लगातार दुई वर्षको आम्दानीले पक्की घर ठडिन लागेको हो। सुन्तलाबाट आम्दानी बढेपछि उहाँले सबैभन्दा पहिला घर निर्माणलाई प्राथमिकतामा राख्नुभएको बताउनुहुन्छ। यसअघि उहाँ बस्दै आउनुभएको कच्ची घर जीर्ण अवस्थामा थियो।

3-1766575873.jpg
    श्रीमान् बितेपछि हलगोरु जोत्न र खेताला व्यवस्थापन गर्न कठिन भएपछि कर्णकुमारीले सुन्तलाखेती रोज्नुभएको थियो। करिब २० वर्षअघि केही थान सुन्तलाका बिरुवा रोपेर सुरु गरिएको बगैँचा अहिले पहेँलपुर बनेको छ। मकै, कोदो र गहुँजस्ता परम्परागत बाली छाडेर फलफूल खेतीमा लाग्नुभएकी उहाँले पहिलो वर्ष सुन्तला बेचेर जम्मा १ हजार ६०० रुपैयाँ कमाउनुभएको थियो। अहिले त्यो आम्दानी लाखौँमा पुगेको छ। हाल कर्णकुमारीको करिब १० रोपनी क्षेत्रमा सुन्तलाको बगैँचा फैलिएको छ।

4-1766575872.jpg
      कहिलेकाहीँ रोगका कारण उत्पादन घट्दा निराशा आए पनि उहाँले कहिल्यै हरेस खानुभएन। दैनिकी अधिकांश समय बगैँचामै बित्ने कर्णकुमारी सुन्तलाका बोटलाई आफ्ना सन्तानसरह माया गर्ने बताउनुहुन्छ। “सुन्तलाका बोटले मलाई खुसी दिन्छन्, बूढेसकालमा पनि मेरो जीवनयापन यिनैसँग चलेको छ,” उहाँले भन्नुभयो। यस वर्ष गत वर्षभन्दा उत्पादन केही कम भए पनि आम्दानीप्रति उहाँ सन्तुष्ट हुनुहुन्छ।

1-1766575383.JPG
    रोजगारीका क्रममा अफगानिस्तान पुगेका श्रीमानको २०६७ सालमा आतङ्ककारी आक्रमणमा निधन भएपछि घरव्यवहार चलाउन निकै कठिनाइ परेको कर्णकुमारी सम्झनुहुन्छ। तर, सुन्तलाखेतीले दैनिकी सहज बनाएको उहाँको अनुभव छ। सुन्तलाको कमाइबाट छोरीहरूको शिक्षादीक्षा, विवाह तथा घरायसी खर्च धान्दै केही बचतसमेत गर्न सफल भएको उहाँले बताउनुभयो।

5-1766575954.jpg
   “श्रीमान् गुमाएपछि जीवन सुनसान बनेको थियो, बाँच्न र आत्मनिर्भर हुन सुन्तलाले नै सिकायो,” कर्णकुमारीले भन्नुभयो। उहाँका लागि सुन्तलाखेती बूढेसकालको बलियो सहारा बनेको छ। घरखर्च चलाउन सन्तान वा अरूमाथि निर्भर हुनुभन्दा फलफूल तथा तरकारीखेती अपनाउन सकिने उहाँको सुझाव छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार