कचनकवल गाउँपालिकामा च्याउ खेतीमा युवतीको आत्मनिर्भरता र संघर्षको कथा - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
विचार

कचनकवल गाउँपालिकामा च्याउ खेतीमा युवतीको आत्मनिर्भरता र संघर्षको कथा

कचनकवल,  भदौ ८

      कचनकवल गाउँपालिका वडा नं. १ की सुनिता कुमारी राजवंशीले एसईई परीक्षा सकेपछि च्याउ खेतीमार्फत आत्मनिर्भर बन्ने साहसिक यात्रा सुरु गरेकी छन्। उनका लागि एउटा प्रयास गरेर हेर् त, सक्छेस् भन्ने वाक्य जीवन बदल्ने मोड बन्यो।

1-1756031581.JPG
 

    २०७९ सालमा कक्षा १० को एसईई परीक्षा सकेपछि, सुनिता कृषि बाली विज्ञानकी विद्यार्थी थिइन् र ओजेटी तालिम लिइरहेकी थिइन्। तालिमका क्रममा प्रशिक्षकको प्रेरणाले उनलाई च्याउ खेतीमा लाग्न उत्साहित गर्यो। घरमा आमाले पनि एकपटक प्रयास गरी हेरन, के थाहा सफल भइहाल्छ्यौू भनेर थप हौसला दिइन्।

   सुनिताको जीवन साधारण थिएन। बाल्यकालमै बुबाको निधन भएपछि, परिवारको सबै जिम्मेवारी उनको काँधमा आयो। भाइबहिनीलाई पढाउन र आमालाई सघाउन उनले च्याउ खेती सुरु गरिन्। पहिलोपटक ३०० पोका राखेर सुरु गरिन्, तर नाफा शून्य रह्यो। दोस्रो वर्षमा २५० पोका राखिन्, तर मौसमले साथ दिएन। तेस्रो वर्षदेखि खेतीसँगै केही उपलब्धि देख्न थालिन् र चौथोपटक ६०० पोका राखेर खेती गर्दैछिन्।

3-1756031588.jpg
 

   गाउँपालिकाले जय कृषि फर्ममार्फत दिएको ७५ हजार रुपैयाँ अनुदानले उनको हौसला अझ बढाएको छ। पहिले पराल काट्ने मेसिन नभएकाले घण्टौँ हातैले काट्नुपर्थ्यो, तर अहिले च्यापकटर र ड्रमको प्रयोगले काम सजिलो भएको छ।

   सुनिताले उत्पादन गरेको च्याउ स्थानीय बजार, डाँगीबारी, बनियानी, पथरीया बजारमा बिक्री गर्छिन्। कहिलेकाहीं उत्पादन ४० केजीभन्दा बढी हुँदा छिमेकी पालिका बाह्रदशीको राजगढ बजारसम्म पुर्‍याइन्छ। च्याउको मूल्य स्थानीय बजारमा प्रतिकेजी २०० रुपैयाँ छ र एकपटक लगाउँदा उनले ८०–९० हजारसम्म आम्दानी गर्ने गरेकी छन्।

2-1756031584.jpg
 

  हाल कक्षा १२ को परीक्षा दिएकी सुनिताले पढाइलाई थाँती राखेर खेतीमै पूर्ण समय दिएकी छिन्। उनका लागि परिवारको जिम्मेवारी र भाइबहिनीलाई पढाउनु प्राथमिकता हो।

   सुनिता केवल च्याउ खेती गर्ने युवती मात्र होइनन्, उनी साहस, संघर्ष र आत्मनिर्भर बन्ने आँटको प्रतीक बनेकी छिन्। उनका अनुभव र संघर्षले देशभरका युवतीहरूको लागि प्रेरणा प्रदान गर्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार