तुलसीपुर उपमहानगरपालिकामा गड्यौला मलको माग तीव्र, उत्पादनले धान्न सकेन
तुलसीपुर, १ पुस
तुलसीपुर उपमहानगरपालिका–३ भट्टेमा गड्यौला मलको माग तीव्र रूपमा बढे पनि उत्पादनले माग धान्न नसक्दा किसानहरू समस्या भोगिरहेका छन्। भट्टेका कृषक कर्णबहादुर वलीले २०७९ सालमा ४० केजी गड्यौला खरिद गरेर गड्यौला मल उत्पादन सुरु गर्नुभएको हो।
हाल भट्टे गाउँमा वार्षिक करिब एक हजार क्विन्टल गड्यौला मलको माग रहे पनि वलीसहितका किसानले सात सय क्विन्टल मात्र उत्पादन गर्दै आएका छन्। वलीले गड्यौला मल उत्पादनका लागि चार वटा टहरा निर्माण गर्नुभएको छ।

अर्गानिक कृषि उत्पादनका लागि परिचित भट्टे गाउँमा किसानहरूले आफ्नै खेतबारीमा गड्यौला मल प्रयोग गर्दै आएका छन्। यहाँबाट वार्षिक करिब पाँच सय क्विन्टल गड्यौला मल बाहिरी बजारमा बिक्री हुने गरेको छ। गड्यौला मल प्रतिकेजी ३० रुपैयाँ अर्थात् प्रतिक्विन्टल तीन हजार रुपैयाँमा बिक्री हुँदै आएको छ भने गड्यौला प्रतिकेजी एक हजार दुई सय रुपैयाँमा बिक्री हुने गरेको वलीले जानकारी दिनुभयो। हालसम्म उहाँले १५ क्विन्टल गड्यौला बिक्री गरी करिब एक लाख १२ हजार रुपैयाँ आम्दानी गर्नुभएको छ।

वलीका अनुसार सुन्तला र ड्रागन फल खेती गर्ने किसानबाट गड्यौला मलको माग बढी छ। हाल सल्यान जिल्लाको कोटमौला क्षेत्रमा मल आपूर्ति गर्दै आउनुभएको उहाँले बताउनुभयो। “दाङका विभिन्न क्षेत्रमा ड्रागन फल खेती विस्तार हुँदै गएकाले माग निकै छ,” वलीले भन्नुभयो, “तर पहिल्यै सम्झौता भएकाले जिल्ला बाहिर नै मल पठाउनुपरेको छ।”
भट्टे गाउँमा वलीसहित करिब ३० जना किसानले गड्यौला मल उत्पादन सुरु गरेका छन्। यद्यपि ठूलो परिमाणमा उत्पादन र बिक्री भने वलीले मात्रै गर्दै आउनुभएको छ।

गाईभैँसीको गोबरलाई टहराभित्र तयार गरिएका साना कोठामा राखी गड्यौला छाड्ने गरिन्छ। सोही मल खाँदै गड्यौलाले गड्यौला मल उत्पादन गर्छ, जसका लागि करिब ७५ दिन समय लाग्ने वलीले बताउनुभयो। घरमै उपलब्ध गोबर पर्याप्त नभएपछि वार्षिक १५ टिप गोबर बाहिरबाट खरिद गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ।
बेनी नगरपालिकामा सुन्तलाको आम्दानीले आत्मनिर्भर एकल महिला
अग्निसाइर कृष्णासवरन गाउँपालिका: सुशासन र पारदर्शितामा जोड दिने चौधरीको घोषणा
दाङको घोराही पालिकामा मौरीपालनले नयाँ उचाइ छोयो
शुक्लाफाँटा नगरपालिकामा मल्चिङ प्रविधिबाट आत्मनिर्भर बन्दै मुक्तकमैया किसान





