पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
पाँचखाल, माघ २३
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका किसानहरू उम्मेदवारको प्रतीक्षामा छन् । तर, उनीहरू भोट माग्न मात्रै होइन, खेतमै आएर आफ्ना पीडा सुन्न र समाधानका प्रतिबद्धता जनाउन उम्मेदवारलाई बोलाइरहेका छन् ।

पाँचखाल–का किसान सीता दनुवार अहिले आलु खन्ने काममा व्यस्त हुनुहुन्छ । निर्वाचनअघि नै आलु खनेर तरकारी लगाइसक्नुपर्ने चटारोबीच उहाँको चिन्ता भने आलुले पाएको मूल्यसँग जोडिएको छ । समयमा रासायनिक मल नपाउनु, आलुको बिउ राखिएको शीतभण्डारले समस्या दिनु र अहिले बजारमा आलुको मूल्य झनै घट्नुले किसान निराश बनेका छन् । “अब खेतमै आएर उम्मेदवारलाई सोध्ने हो—किसानको उत्पादनले उचित मूल्य किन पाउँदैनरु” उहाँ भन्नुहुन्छ ।

दनुवारका अनुसार पाँचखालका किसानले ‘किसानको भूमिका मत हाल्नेमा मात्रै सीमित हुँदैन’ भन्ने सन्देश दिन खोजेका छन् । “हात जोडेर भोट माग्दैमा नेता महान् हुँदैन,” उहाँले भन्नुभयो, “किसानले आफ्नो उत्पादनको उचित मूल्य पाएपछि मात्रै असली जनसेवा हुन्छ ।” पाँचखाल काफ्लेडिहीका किसान ज्ञानबहादुर थापाका अनुसार आलुको भाउ घटेपछि यस क्षेत्रमै चुनावी चहलपहल कमजोर देखिएको छ ।

अघिल्लो वर्ष यही समयमा प्रतिकिलो ३५ रुपैयाँमा बिक्री भएको आलु अहिले २२ रुपैयाँमै झरेको छ । “भारतीय आलुले बजार ओगटेपछि पाँचखालको आलुले भाउ पाएन,” व्यापारीको भनाइ उद्धृत गर्दै थापाले गुनासो गर्नुभयो । कुनै समय माघमै प्रतिकिलो ४० रुपैयाँसम्म बिक्री हुने आलुले अहिले लगानी पनि उठाउन नसक्ने अवस्था सिर्जना भएको छ ।
-1770355388.jpg)
पाँचखाल–२ का वडाध्यक्ष तथा अग्रणी किसान रामेश्वर दाहालले किसानका समस्या संसद्मा पुर्याउने स्पष्ट प्रतिबद्धता उम्मेदवारबाट आउनुपर्ने बताउनुभयो । उहाँका अनुसार आलु र तरकारी खेती पाँचखालको मुख्य आम्दानीको आधार हो । स्थानीय बिउ व्यवसायी तथा किसान सरोज सापकोटाका अनुसार पाँचखाल क्षेत्रमा कम्तीमा ३० हजार रोपनीमा आलु खेती हुँदै आएको छ । एक याममा मात्रै करिब छ अर्ब रुपैयाँभन्दा बढीको आलु कारोबार हुने र झन्डै १५ हजार परिवारको जीविकोपार्जन यसैमा निर्भर रहेको उहाँले बताउनुभयो । माघदेखि जेठसम्म पाँचखालको आलुले काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरमा बजार ओगट्ने गरेको छ ।

यता पनौती कुशादेवीका किसान सन्तोष न्यौपानेले रासायनिक मल सहज रूपमा नपाएको गुनासो गर्दै ‘मल दिनुस्, मत लिनुस्’ भन्ने अभियान चलाउनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँका अनुसार एकातिर पाँचखालमा आलु खन्ने याम सुरु भएको छ भने पनौती, धुलिखेल, बेथानचोक र बनेपामा आलु रोपाइँ सुरु भइसकेको छ ।
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काइके गाउँपालिकाबाट निमा रोकाय गुम्बा विकास समितिको अध्यक्षमा चयन
