रामधुनी नगरपालिकाको पहलमा शङ्करबेली सिमसार पर्यटकीय केन्द्र बन्दै - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सामाजिक

रामधुनी नगरपालिकाको पहलमा शङ्करबेली सिमसार पर्यटकीय केन्द्र बन्दै

सुनसरी, चैत १० 

     सुनसरीको रामधुनी नगरपालिका–६ स्थित शङ्करबेली सिमसार पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। करिब १३ वर्षअघि स्थापना गरिएको यस सिमसारलाई स्थानीय उपभोक्ता समितिको सक्रियता, संरक्षण प्रयास तथा प्रदेश र स्थानीय सरकारको सहयोगले व्यवस्थित पर्यटकीयस्थलका रूपमा रूपान्तरण गरिएको हो।

2-1774359837.jpg
      सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईका अनुसार यहाँ दैनिक रूपमा ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन्। वनभोजको याममा दैनिक १० हजारभन्दा बढी र अन्य समयमा औसत १५० जना पर्यटक पुग्ने गरेको उहाँले जानकारी दिनुभयो।  विशेषगरी कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० सम्म वनभोजका लागि आउनेको भीड अत्यधिक हुने गरेको छ। शङ्करबेली वन उपभोक्ता समितिको संरक्षणमा रहेको यो सिमसार प्राकृतिक मनोरञ्जन र सामूहिक वनभोजका लागि उपयुक्त स्थल मानिन्छ। वैशाख महिनामा सिमसार वरपर फुल्ने शिरीषका फूलले क्षेत्रको सौन्दर्य अझ बढाउने भएकाले सो अवधिमा पर्यटकको चाप उल्लेखनीय रूपमा बढ्ने गरेको छ।

1092334116ramdhuni-nagarpalika-1774358982.jpeg
       यस सिमसारमा एकै पटक करिब ११० समूहले वनभोज गर्न सक्ने क्षमता रहेको छ। वनभोजका लागि आउने टोलीबाट ३०० देखि एक हजार रुपैयाँसम्म शुल्क लिइने गरिन्छ, जसबाट सिमसारको संरक्षण, सरसफाइ र व्यवस्थापन कार्य सञ्चालन गरिँदै आएको छ।  करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको दुई करोड रुपैयाँबाट विभिन्न पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका सदस्य निश्चल तामाङले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक