धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
धादिङ, चैत २२
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल आज प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ। धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मनुभएका अर्यालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित हुनुभएको थियो।

वैकल्पिक राजनीतिक यात्रामा निरन्तर सक्रिय रहँदै आएका अर्यालले विगतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँले विदेशमा अध्ययन, अनुसन्धान र व्यवसाय सञ्चालन गर्दै जापान लगायतका देशमा अनुभव संकलन गर्नुभएको थियो। विगत २५ वर्षदेखि स्वदेशमै पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा सक्रिय रहँदै, व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आउनुभएको छ।

२०७९ सालमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीमा उहाँले संस्थापक उपाध्यक्षको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। अघिल्लो संसद् कार्यकालमा श्रममन्त्री रहँदा श्रमिक अधिकार संरक्षण, वैदेशिक रोजगार प्रणाली सुधार र सामाजिक सुरक्षा प्रवर्द्धनमा उहाँको योगदान उल्लेखनीय रह्यो। प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई निर्विरोध सभामुख घोषित गर्नुभयो। नवनिर्वाचित सभामुख अर्याल आज राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको सपथ लिनुहुने कार्यक्रम छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
