पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
धनकुटा, चैत २४
धनकुटाको पाख्रीबास नगरपालिकाभित्र पर्ने पाख्रीबास–सान्ने सडक स्तरोन्नतिमा संलग्न मजदुरहरूले लामो समयसम्म पारिश्रमिक नपाएको गुनासो गरेका छन्। आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा करिब एक करोड ३० लाख रुपैयाँ लागतमा उक्त सडक स्तरोन्नति गरिएको थियो। निर्माण कार्य सम्पन्न भएको करिब एक वर्ष बितिसक्दा पनि मजदुरहरूले आफूले काम गरेबापतको ज्याला नपाएको बताएका छन्।

स्थानीय कामदार कपेन्द्र मगरका अनुसार सडक निर्माणको सम्पूर्ण काम सकिए पनि ठेकेदार पक्ष सम्पर्कविहीन हुँदा पारिश्रमिक पाउन समस्या भएको छ। उनका अनुसार ग्राभेल हाल्ने, मेसिनरी बाल तथा कचुवा निर्माणजस्ता काम सम्पन्न भए पनि ज्याला भुक्तानी अझै हुन सकेको छैन।

उक्त आयोजनाको ठेक्का कौशिकी निर्माण सेवा प्रा.लि.ले पाएको थियो भने मुख्य ठेकेदार सिताराम भट्टराई र पेटी ठेकेदार उत्तम कटुवाल रहेको मजदुरहरूको भनाइ छ। मजदुरहरूले यी ठेकेदारहरूले सयौँ कामदारको लाखौँ रुपैयाँ भुक्तानी नगरी बेवास्ता गरेको आरोप लगाएका छन्।

कामदारका अनुसार ठेकेदारहरू एकअर्कालाई जिम्मेवारी थोपर्दै पन्छिने गरेका छन् भने सम्बन्धित निकायमा जाँदा पनि ठेकेदारलाई ल्याउन भनिने बाहेक ठोस पहल नभएको गुनासो छ। दैनिक ज्यालादारीमा आश्रित मजदुरहरूका लागि पारिश्रमिक नपाउनु ठूलो समस्या बनेको छ। उनीहरूले आफ्नो मेहनतको मूल्य नपाउँदा दैनिक जीवनयापनमा समेत असर परेको बताएका छन्।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो

-1775551031.png)