हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम

नवलपरासी , चैत २४ 

      हुप्सेकोट गाउँपालिकाले छोरी जन्मलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रमअन्तर्गत नवजात बालिकाहरूका लागि बैंक खातासहित नगद सहयोग उपलब्ध गराउँदै आएको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ३६ जना बालिकाको नाममा जनही पाँच हजार रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिएको छ।

3-1775555350.jpg      गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेका अनुसार गाउँपालिकामा स्थायी बसोबास गर्ने दम्पतीले छोरी जन्मिएपछि वडा कार्यालयमा जन्मदर्ता गराएलगत्तै बालिकाको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले पाँच हजार रुपैयाँ जम्मा गरिदिने व्यवस्था गरिएको छ। हालसम्म फागुन मसान्तसम्म जन्मिएका ३६ बालिकाका लागि एक लाख ८० हजार रुपैयाँ निकासा भइसकेको छ। उहाँले अभिभावकलाई पनि छोरीको खातामा कम्तीमा थप पाँच हजार रुपैयाँ बचत गर्न प्रोत्साहित गरिएको बताउनुभयो। यस कार्यक्रममार्फत बालिकाको भविष्य सुरक्षित बनाउनुका साथै सानैदेखि बचत गर्ने बानीको विकास गराउने लक्ष्य राखिएको छ।

5-1775558810.jpg
    छोरीको नाममा खोलिएको बैंक खाताको संरक्षक अभिभावक रहनेछन् र उक्त रकम उच्च शिक्षालगायत आवश्यक कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ। गाउँपालिकाका अनुसार यसले छोरीप्रति सकारात्मक सोच विकास गर्न, आत्मनिर्भरता बढाउन र भ्रूण हत्या न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार