शारदा पालिकामा निर्माण सम्पन्न आधुनिक बसपार्क, उद्घाटन तयारी अन्तिम चरणमा

सल्यान,भदौ १०
सल्यान। शारदा नगरपालिका–१, श्रीनगर बजारमा करिब पाँच करोड ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएको आधुनिक बसपार्क अब उद्घाटनको तयारीमा पुगेको छ। आगामी भदौ मसान्तसम्म बसपार्क औपचारिक रूपमा सञ्चालनमा ल्याउने योजना नगरपालिकाले सार्वजनिक गरेको छ।
शारदा नगरपालिकाका इन्जिनियर खगेन्द्र मल्लका अनुसार, करिब ९ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस बसपार्कमा ठूला तथा मध्यम सवारीका लागि ३२ स्टल, मोटरसाइकल पार्किङका लागि ५० स्टल, ३४ व्यावसायिक सटर, ३५ साना व्यवसायिक कोठा, टिकट काउन्टर, बहुउद्देश्यीय सभाहल, स्टोर कक्ष र दुई आधुनिक शौचालय छन्। प्रवेशद्वारमा वीरताको प्रतीक क्रसखुकुरी स्तम्भ निर्माण गरिएको छ। साथै, नजिकै रहेको प्रसिद्ध खैरावाङ भगवती मन्दिर र सल्यानमा उत्पादन हुने अदुवालाई प्रतिकात्मक मूर्तिको रूपमा बसपार्कभित्र सजाइएको छ।
कर्णाली प्रदेशमै पहिलोपटक यस्तो स्तरको आधुनिक बसपार्क निर्माण भएको इन्जिनियर मल्लले दाबी गरे। बसपार्क निर्माणका लागि संघीय सरकार, कर्णाली प्रदेश सरकार र नगरपालिकाले संयुक्त रूपमा बजेट उपलब्ध गराएका थिए।
मेयरको महत्वाकांक्षी योजना
मेयर प्रकाश भण्डारीको महत्वाकांक्षी योजनाका रूपमा सुरु गरिएको बसपार्क निर्माणका क्रममा करिब एक दर्जन पक्की घर र ८५ टहरा भत्काइएको थियो। यी संरचनाहरू सार्वजनिक जमिन अतिक्रमण गरी बनेका थिए। निर्माण प्रक्रिया सुरु हुँदा मेयर भण्डारी आलोचित भए पनि, अब भने सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ।
स्थानीयको अपेक्षा
व्यवसायी, यातायात क्षेत्रका प्रतिनिधि र स्थानीयवासीहरूले बसपार्क सञ्चालन भएपछि श्रीनगर मात्र नभई सम्पूर्ण सल्यानमा आर्थिक गतिविधि वृद्धि हुने, रोजगारी सिर्जना हुने र यातायात सेवा व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्।
नगरपालिकाका प्रवक्ता तथा वडा नं. ११ का वडाध्यक्ष राजेशकुमार शर्माले यो बसपार्कलाई गतिशील योजनासहित दिगो पूर्वाधारू भन्दै यसले आर्थिक, सामाजिक र व्यावसायिक क्षेत्रमा दीर्घकालीन योगदान गर्ने बताए।
हाल बसपार्क सञ्चालनका लागि नगरपालिका टेन्डर प्रक्रिया अघि बढाइरहेको छ।

शुभकालिका गाउँपालिकामा पहिरो, कर्णाली राजमार्ग पुनः अवरुद्ध
