शारदा नगरपालिकाः टिमुर र ओखर खेतीबाट कृषकको नवजागरण - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

शारदा नगरपालिकाः टिमुर र ओखर खेतीबाट कृषकको नवजागरण

सल्यान, १५ भदौ 

   शारदा नगरपालिका–९ नयाँ बस्तीका कृषक जीवराज बोहराले दाँते ओखर खेतीबाट उल्लेख्य आम्दानी गर्न थालेका छन्। लामो समयदेखि व्यावसायिक टिमुर खेती गर्दै आएका बोहराले करिब १५ वर्षअघि बाँझो जमिनमा ओखरका बिरुवा रोपेका थिए। अहिले तिनै बोटहरू फलदायी बन्दै उनको आम्दानीको नयाँ स्रोत बनेका छन्।

2-1756638733.jpg
 

जीवराजले करिब १५० वटा बिरुवा रोपेका छन्, जस मध्ये अहिले १५ बोटले फल दिन थालेका छन्। एउटा ठूलो बोटबाट मात्र वार्षिक ४ हजार दाना ओखर फल्ने गरेको उनको अनुभव छ। दाना प्रतिपिसो १० रुपैयाँमा बिक्री हुने भएकाले हालैको उत्पादनबाट करिब १ लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ। बाँकी बोटहरू पनि फल दिन थालेपछि आम्दानी झनै बढ्ने उनको विश्वास छ।

3-1756638735.jpg

टिमुर र ओखरबाटै वार्षिक पाँच लाख आम्दानी

    जीवराजको घरपरिवारको मुख्य आयस्रोत टिमुर र ओखर खेती नै बनेको छ। उनीसँग करिब ३०० टिमुरका बोट छन्, जसबाट हरेक वर्ष करिब ६ क्विन्टल टिमुर उत्पादन हुन्छ। टिमुर र ओखर बिक्री गरेर उनले हालसम्म वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

“अब टिमुरसँगै ओखर खेतीलाई अझ विस्तार गर्ने योजना बनाएको छु,” बोहराले भने।

   नगरपालिकाको प्राथमिकतास् नगदे बाली

    शारदा नगरपालिकाले ओखर र अन्य नगदे बालीलाई प्राथमिकतामा राखेर कृषिलाई व्यावसायिक बनाउन कार्यक्रम अघि सारेको छ। नगरप्रमुख प्रकाश भण्डारीका अनुसार छिट्टै वडा नम्बर ९ मा हजारौं ओखरका बिरुवा वितरण गर्ने तयारी भइरहेको छ।

त्यस्तै,अन्य वडामा पनि फलफूलका बिरुवा वितरण गरी किसानलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने योजना रहेको उनले जानकारी दिए।

1-1756638716.JPG

माग बढेसँगै खेती विस्तार

   जिल्लाका अन्य भागमा पनि किसानहरूको आफ्नै पहल र सरकारी निकायको सहकार्यमा ओखर खेती विस्तार भइरहेको छ। दुई वर्षअघि मात्र बनगाड कुपिण्डे नगरपालिका–६ मा ५५ घरधुरीले १,१०० ओखरका बिरुवा रोपे। बजारमा माग बढ्दै गएकाले किसानहरू नगदे बालीतर्फ आकर्षित भइरहेका छन्।

  डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजङ्ग खड्काका अनुसार किसानले माग गरेमा जडीबुटी तथा कृषि–वन प्रवर्धन कार्यक्रममार्फत अनुदानमा ओखरका बिरुवा उपलब्ध गराइनेछ।

lcm-logo-1756638740.jpeg
 

युवा पुस्तालाई सन्देश

    व्यावसायिक खेतीमार्फत सफल भएका बोहराले युवापुस्तालाई परदेशिनुभन्दा आफ्नै भूमिमा पसिना बगाएर सम्मानजनक जीवनयापन गर्न सकिने सन्देश दिएका छन्।

विशेषज्ञहरूको भनाइमा टिमुर र ओखरजस्ता उच्च मूल्यका नगदे बाली समयमै छनोट गरेर उत्पादन गर्न सके किसानको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउन सकिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार