दैलेखको भैरवी गाउँपालिका–१: जलजलेबाट ५० वर्षसम्म प्रयाप्त मिथेन ग्यासको सम्भावना - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

दैलेखको भैरवी गाउँपालिका–१: जलजलेबाट ५० वर्षसम्म प्रयाप्त मिथेन ग्यासको सम्भावना

दैलेख, १७ भाद्र 

 
     नेपाल–चीन सहकार्यमा दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा भइरहेको पेट्रोलियम अन्वेषणमा प्रारम्भिक परिणामहरू उत्साहजनक छन् । गहिराइमा सम्पन्न पहिलो ड्रिलिङ (४०१३ मिटर) मार्फत सङ्कलन गरिएका नमूनाहरूमा करिब १.१२ अरब घनमिटर मिथेन ग्यासको भण्डारण पुष्टि भएको छ।

3-1756901042.JPG
   यो केवल चार सम्भावित कुँवातर्फको पहिलो कुँवाबाट प्राप्त आरम्भिक नतिजा होस यस आधारमा पूर्ण क्षेत्र विस्तृत रूपमा ४३० अरब घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको छ, जुन नेपालको आगामी लगभग ५० वर्षको ग्यास आवश्यकताको पूर्ति गर्न पर्याप्त हुनसक्ने सम्भावना देखिन्छ।

2-1756901043.JPG
   हाल प्रयोगशालामा चिनियाँ टोलीले नमूनाहरूको विश्लेषण गरी अन्तिम प्रतिवेदन तयार गरिरहेको छ, जसको प्राप्ति २०२५ डिसेम्बरसम्म अपेक्षित गरिएको छ। यस प्रतिवेदनमा भू–भौतिक र भू–वैज्ञानिक विवरण सहित ग्यासको गुणस्तर, व्यावसायिक उत्पादन सम्भाव्यता, पूर्वाधार र लागत सम्बन्धी तथ्याङ्क प्रदान हुनेछन्।

1-1756723440-1756901085.jpg
   सरकारले यस परियोजनालाई व्यावसायिक उत्पादनतर्फ अग्रसर गर्न दृढता देखाएको छ। प्रधानमन्त्री के पी शर्मा ओलीले नीति निर्देशन दिइसकेका छन्, र नेपाल आयल निगमको कार्यकारी निर्देशक बिनितमणि उपाध्यायको संयोजकत्वमा चार सदस्यीय प्राविधिक अध्ययन समिति गठन भइसकेको छ।समितिका अन्य सदस्यहरूमा खानी तथा भूगर्भ विभागका वरिष्ठ भू–वैज्ञानिक धर्मराज खड्का, परियोजना प्रतिनिधि मनोरञ्जन मणि कर्ण, र निगमकी सहायक प्रबन्धक दीप्ति पौडेल रहेका छन्।

3-1756902240.JPG
   समितिले तत्कालै दैलेखमा स्थलगत अध्ययन सम्पन्न गरिसकेको छ। यस अध्ययनले ग्यासको सम्भावित उपयोग, आवश्यक पूर्वाधार, लागत विश्लेषण, सम्भावित प्रयोग (जस्तै: घरायसी ईन्धन, बिजुली उत्पादन, मल उद्योग), र सञ्चालन मोडेल–विशेष प्रयोजन कम्पनी (SPV) अन्तर्गत यसलाई अगाडि बढाउने कानुनी तथा आर्थिक व्यवहार्यता अध्ययन गर्ने जिम्मेवारी पाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार