सुनवर्षी नगरपालिका–८ मा खोप केन्द्रको जग्गा अवैध रूपमा बिक्री
विराटनगर,भाद्र १८
मोरङको सुनवर्षी नगरपालिका–८ मा रहेको सरकारी खोप केन्द्रको करिब ७ कठ्ठा ऐलानी जमिन भारतीय महिलाको नाममा दर्ता गरी बिक्री गरिएको तथ्य बाहिरिएपछि स्थानीयवासी आक्रोशित भएका छन्। तत्कालीन जनप्रतिनिधि, मालपोत कार्यालयका केही कर्मचारी र भूमाफियाको मिलेमतोमा सार्वजनिक सम्पत्ति कब्जा भएको प्रमाण खुलेसँगै नगरपालिका र मालपोत कार्यालयले छानबिन अघि बढाएका छन्।

सार्वजनिक सम्पत्ति निजी स्वामित्वमा
वडा नं. ८ खडेवारीस्थित आधारभूत विद्यालय पछाडिको सो जमिन सामुदायिक खेलमैदानका रूपमा प्रयोग हुँदै आएको थियो। तर क्रमशः घर–टहरा निर्माण भएसँगै २०७१ सालतिर भारतीय नागरिक पदमादेवी गन्गाईको नाममा दर्ता भएको र पछि विभिन्न ९ जनाको नाममा बिक्री गरिएको पाइएको छ।
वडाध्यक्ष अनवर मियाँका अनुसार, “खोप केन्द्र रहेको सरकारी जमिनलाई निजी स्वामित्वमा पुर्याउने कार्य पूर्ण गैरकानुनी हो। अहिले वडा कार्यालय र नगरपालिका मिलेर जग्गा फिर्ता ल्याउने पहल भइरहेको छ।”

धनीपूर्जा किर्तेको आशंका
मालपोत कार्यालय रंगेलीका प्रमुख सुनिल पौडेलले सो जग्गाको धनीपूर्जा किर्तेगरी तयार भएको आशंका व्यक्त गरे। उनका अनुसार सो कित्ता नं। १६६ ऐलानी जमिनका रूपमा दर्ता भए पनि प्रमाणित फाँटवाला र प्रमुखको अनुमोदन नपाएकाले कागजात अवैध देखिन्छ। २०७४ पुस २४ गतेको हालसाविक निर्णयअनुसार सो जमिन नयाँ कित्ता नं। १२२ बनेको छ।
“अनियमितता देखिएकाले जमिन रोक्का गरेर छानबिन भइरहेको छ। गलत प्रमाणित भएमा सम्पत्ति फिर्ता ल्याइनेछ र संलग्नमाथि कानुनी कारबाही हुन्छ,” पौडेलले बताए।
कानुनी कारबाहीको तयारी
जग्गा किनेका व्यक्तिहरूले क्षतिपूर्ति नदिई जग्गा फिर्ता लिन खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। तर स्थानीयवासी भने सरकारी सम्पत्ति कब्जा गर्ने गिरोहलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिरहेका छन्।
नगर प्रमुख श्यामप्रसाद राजवंशीले, “खोप केन्द्रको जग्गा भारतीय नागरिकको नाममा पुगेको घटना गम्भीर छ। सार्वजनिक सम्पत्ति फिर्ता ल्याएर संलग्नलाई कानुनी दायरामा ल्याइन्छ,” भने।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
