छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा श्रीमान्ले श्रीमतीको हत्या, भान्सा कोठामा गाडिएको अवस्थामा शव फेला
अर्घाखाँची, भदौ १८
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा श्रीमान्ले श्रीमतीको हत्या गरी भान्सा कोठामै गाडेको घटना सार्वजनिक भएको छ।
प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलिबाङका ३६ वर्षीय किरण गुरुङ पछिल्ला आठ वर्षदेखि परिवारसहित पातलेपोखरामा बस्दै आएका थिए। उनकी पत्नी ३४ वर्षीया सुमित्रा कुमाल र नौ वर्षीया छोरी सरूसहित उनी गाउँमै दैनिकी बिताइरहेका थिए।
गत बिहीबारदेखि सुमित्रा हराएपछि किरण स्वयंले प्रहरीलाई श्रीमती हराएको मौखिक जानकारी गराएका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनी अन्य पुरुषसँग गएको हुनसक्ने आशंका गरेको थियो। तर चार दिनसम्म कुनै पत्ता नलागेपछि सोमबार प्रहरी टोली किरणकै घरमा पुगेको थियो।
घरमा प्रवेश गर्ने क्रममा प्रहरीले असामान्य दुर्गन्ध महसुस गर्यो। भान्सा कोठामा नयाँ खनिएको खाल्डो देखेपछि शंका बढ्यो। खाल्डो खनिदा महिलाको शव भेटिएपछि प्रहरी स्तब्ध भयो। शव ब्ल्याङ्केटमा बेरेर गाडिएको अवस्थामा भेटिएको थियो।
बालिका सरूले पनि आमालाई आफ्नै बाबुले हत्या गरेर गाडेको प्रमाणित बयान दिएकी छिन्। उनले आमाको हत्या देखेकी थिइन् तर बुवाले आफूलाई समेत मारिदिने धम्की दिएका कारण पाँच दिनसम्म चुप बसेकी थिइन्।
प्रहरीले तत्कालै किरणलाई नियन्त्रणमा लिएर मंगलबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लका अनुसार घटनास्थल अत्यन्तै क्रुर देखिएको छ। “हँसियाले पछाडिबाट प्रहार गरिएको छ, साथै बाँसको चिर्पट प्रयोग भएको छ,” उनले भने।
अनुसन्धानअनुसार किरण बुधबार राति भजनकीर्तनमा सहभागी भएर घर फर्किएका थिए। मदिरा सेवन गरेका उनले श्रीमतीसँग बाहिरी सम्बन्धको आशंकामा झगडा गरि हत्या गरेको देखिएको प्रहरीको भनाइ छ।
डीएसपी मल्लले भने, “यसअघि पनि उनीहरूबीच बाहिरी सम्बन्धलाई लिएर विवाद हुने गरेको पाइएको छ। यही आशंकाले यसपटक हत्या सम्म पुर्याएको देखिन्छ।”हाल किरणलाई कर्तव्यजन्य हत्या अभियोगमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

शुभकालिका गाउँपालिकामा पहिरो, कर्णाली राजमार्ग पुनः अवरुद्ध
