धरान उपमहानगरपालिका र गढी गाउँपालिकाका कैदीको झुम्का कारागारमा मृत्यु
धरान,भाद्र १७
सुनसरीको झुम्का कारागारमा दुई कैदीको उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव रहेका छन्।
कारागार प्रशासनका अनुसार दुवै जनालाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा उराँवको सोमबार दिउँसो र राईको मंगलबार बिहान मृत्यु भएको निमित्त जेलर राम निरौलाले जानकारी दिए।

रामदेव उराँव कर्तव्य ज्यान मुद्दामा अदालतले तोकेको २५ वर्ष कैद सजाय २०७७ सालदेखि भोगिरहेका थिए भने सागर राई लागुऔषध मुद्दामा गत वैशाखदेखि पुर्पक्षका लागि थुनामा थिए।

दुवै जनाको शव आफन्तले बुझिसकेको सुनसरीका एसपी सुमन तिमल्सिनाले बताए। उनका अनुसार कारागारमा एकैपटक दुई कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले तत्काल अनुगमन गरी स्वास्थ्य शिविर सञ्चालन गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ।
झुम्का कारागारमा १३ दिनको अवधिभित्र तीन कैदीको मृत्यु भइसकेको छ। यसअघि भदौ ४ गते भोजपुर हतुवागढीका २८ वर्षीय विकास राईको उपचारकै क्रममा मृत्यु भएको थियो।

एसपी तिमल्सिनाले लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कैदीहरू प्रायः दीर्घरोगी हुने गरेको उल्लेख गर्दै कारागारका बिरामी कैदीहरूको स्वास्थ्य परीक्षण नियमित गर्ने, विवरण संकलन गर्ने र गम्भीर अवस्थाका कैदीलाई आवश्यक परे अन्यत्र स्थानान्तरण गर्ने योजनाबारे जानकारी दिए। हाल झुम्का कारागारको ‘ए’ र ‘बी’ ब्लकमा गरेर १,७९४ जना कैदी राखिएका छन्।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
