सिमकोट गाउँपालिका र वरपरका बस्तीमा सडकले ल्यायो सहजता

सुर्खेत,भाद्र २०
हुम्ला अब महँगी र अभावको पहिचान मात्र भएको जिल्ला रहेन। खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा गत असार २२ गते बेलिब्रिज बनेपछि कर्णाली करिडोरमार्फत हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि यहाँको जीवनशैलीमा क्रान्तिकारी परिवर्तन आएको छ। यसअघि जहाजमार्फत प्रतिकिलो १२५ रुपैयाँसम्म ढुवानी भाडा तिरेर खाद्यान्न ल्याउनुपर्थ्यो। अहिले भने ट्रकले सामान पुर्याउन थालेपछि उपभोग्य वस्तुको मूल्य करिब आधा घटेको व्यापारीहरू बताउँछन्।
सिमकोट गाउँपालिका–७ का पदमबहादुर रोकायाले भने, “पहिले ५ किलो चामलका लागि दिनभर खाद्यमा लाइन बस्नुपर्थ्यो। अहिले गाडी घरमै सामान ल्याइदिन्छ।” उनका छिमेकी रघुवीर बुढाले दुई वर्षअघि प्रतिकिलो २५० रुपैयाँमा चामल किनेर दशैं मनाएको स्मरण गरे। अहिले ३० किलोको चामल २५ सयमै पाइने उनले सुनाए।
व्यापारी सुन्दर लामा भन्छन्, “जहाजले त प्रतिकिलो १२५ भाडा लिन्छ। अहिले भने ट्रकले २०–२५ मै सामान ल्याउँछ।” उनका अनुसार चामल, दाल, तेल, चिनी, ग्यासलगायत अधिकांश वस्तु ४० प्रतिशतसम्म सस्ता भएका छन्।
झलक बुढाले पनि खाने तेलदेखि ग्याससम्मको मूल्य घटेको बताए। “पहिले नयाँ सिलिन्डर ७ हजारमा पर्थ्यो, अहिले ४ हजार ५ सयमै पाइन्छ। भरेको सिलिन्डर २७ सयमा झरिसकेको छ,” उनले भने। ग्यास सहज भएपछि धेरैले दाउराको प्रयोग छोड्दै गएका छन्।
स्थानीय उत्पादन पनि अहिले बजारसम्म पुग्न थालेको छ। सिमी, आलु, मार्सी धान, चिनो, उवा र हुम्ली स्याउ पहिलोपटक ठूलो परिमाणमा बाहिर पठाइएको छ। नेपालगन्जका व्यापारीले बगैंचामै गएर प्रतिकिलो ५० मा स्याउ खरिद गर्न थालेको किसानहरूले बताएका छन्।
उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार सडक पुगेपछि निर्माण सामग्री पनि सस्तो भएको छ। “पहिले ८ हजार पर्ने सिमेन्ट अहिले २ हजारमै पाइन्छ। डिजेल ४ सय पर्थ्यो, अहिले १६५ मा छ,” उनले भने। खार्पुनाथ, सिमकोट र वरपरका गाउँहरू अहिले साना बजारका रूपमा विकसित हुँदै गएका छन्। गाडी पुगेसँगै घोडा र खच्चड पाल्नेहरू पनि ट्र्याक्टर र मिनिट्रकमा लगानी गर्न थालेका छन्।
सडकले न केवल भान्सा सस्तो बनाएको छ, स्थानीय उत्पादनलाई बजार जोडेको छ, रोजगारी सिर्जना गरेको छ र गाउँ–गाउँमा विकास निर्माणलाई गति दिएको छ।दक्षिणमा नेपालगन्ज–जमुनाहादेखि उत्तरमा हिल्सासम्म ६८२ किलोमिटर लामो कर्णाली करिडोरले हुम्ला मात्र होइन, सम्पूर्ण कर्णालीलाई नयाँ सम्भावनासँग जोडेको छ।

बारा–पर्सा औद्योगिक करिडोरका मजदुर असुरक्षित, स्थानीय पालिकाको भूमिकामाथि पनि प्रश्न

सुखीपुर नगरपालिकामा डोम समुदायमाथि विभेद र आक्रमण
