बारा–पर्सा औद्योगिक करिडोरका मजदुर असुरक्षित, स्थानीय पालिकाको भूमिकामाथि पनि प्रश्न

बारा, भदौ २०
बारा–पर्सा औद्योगिक करिडोरमा कार्यरत मजदुरहरू शारीरिक तथा सामाजिक दुवै किसिमको सुरक्षाबाट वञ्चित भइरहेको ताजा अध्ययनले देखाएको छ। अखिल नेपाल औद्योगिक मजदुर संघले सुरु गरेको अनुसन्धानमा अधिकांश उद्योगहरूले कानुनी प्रावधानको पालना नगरेको तथ्य फेला परेको हो।
दुर्घटना र लापरबाही
सिमरास्थित जगदम्बा स्टीलमा डेढ वर्षअघि भएको दुर्घटनामा दुई मजदुरको मृत्यु भएको घटना अझै ताजा छ। यस्तै, हालै पनि करिडोरभित्रै भएको अर्को दुर्घटनामा श्रमिकको ज्यान गएको छ, तर मृतक श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत नै थिएनन्। मृतक राजकुमार ठाकुरको परिवार अझै पीडामै छ। उनका बुबाले उद्योगको लापरबाहीकै कारण छोराको मृत्यु भएको भन्दै गुनासो पोखेका छन्।
कानुनको पालना कमजोर
श्रम ऐन, २०७४ अनुसार रोजगार सम्झौता, न्यूनतम पारिश्रमिक (१९,५५० रुपैयाँ), व्यक्तिगत सुरक्षा उपकरण, बीमा र सामाजिक सुरक्षा कोषमा दर्ता अनिवार्य छ। तर, अध्ययन अनुसार करिडोरका ८० प्रतिशत उद्योगहरूले यी मापदण्ड पालना गरेका छैनन्।
मधेस प्रदेश सामाजिक सुरक्षा कोषका प्रमुख अशेष लामिछानेका अनुसार, “उद्योगहरूले थोरै मजदुर मात्र दर्ता गरेर धेरैलाई बाहिर राख्ने प्रवृत्ति” बढ्दो छ। अहिले मधेसका ८ जिल्लामा १,१६७ रोजगारदाताहरू कोषमा आवद्ध भए पनि, केवल ३०,७०१ मजदुर मात्र दर्ता भएका छन्।
सुविधा उपलब्ध भए पनि पहुँच छैन
सामाजिक सुरक्षा कोषमा दर्ता भएकाले औषधि उपचार, मातृत्व खर्च, दुर्घटना बीमा, अशक्तता पेन्सन र मृत्यु पश्चात आश्रितलाई सहयोग जस्ता सुविधा पाउँछन्। तर, यी सुविधा अझै सबै श्रमिकसम्म पुग्न सकेका छैनन्।
मजदुरमैत्री वातावरणको खाँचो
अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष बेनी तिमिल्सिनाले उद्योगहरूले न्यूनतम पारिश्रमिक नदिने, बीमा नगर्ने, सामाजिक सुरक्षा बेवास्ता गर्ने प्रवृत्तिका कारण मजदुरहरू “दोहोरो असुरक्षामा” परेको बताए।
करिडोरमा करिब ८ सय उद्योग सञ्चालनमा छन्। ती उद्योगमा करिब ८० हजार श्रमिक प्रत्यक्ष रोजगारीमा भए पनि, केवल १० हजार मात्र लिखित सम्झौता गरेर सामाजिक सुरक्षा कोषमा दर्ता भएका छन्।

सिमकोट गाउँपालिका र वरपरका बस्तीमा सडकले ल्यायो सहजता

सुखीपुर नगरपालिकामा डोम समुदायमाथि विभेद र आक्रमण
