वीरगन्ज महानगरपालिका र आसपासका पालिकामा हैजा संक्रमण न्यून हुँदै

पर्सा,भदौ २१
वीरगन्ज महानगर क्षेत्रमा पछिल्ला १८ घण्टायता हैजाका नयाँ संक्रमित फेला परेका छैनन्। शनिबार बिहान ५ बजेसम्मको तथ्यांकअनुसार महानगरमा हैजा संक्रमितको संख्या १ सय ९२ मा स्थिर छ।
संक्रमितमध्ये १ सय ७५ जना उपचारपछि घर फर्किसकेका छन् भने १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस अवधिमा वीरगन्जका अस्पतालहरूमा झाडापखालाका २१ जना मात्र बिरामी उपचारका लागि आएका छन्।महानगर कार्यालयले शनिबार बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार संक्रमित संख्या १ सय ९२ थियो भने साँझ ५ बजे पनि त्यहीँ कायम रहेको थियो।
नजिकैको पोखरिया क्षेत्रमा पनि नयाँ संक्रमित थपिएका छैनन्। नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार प्रारम्भिक अनुमानअनुरूप हैजाको जोखिम क्रमशः घट्दै गएको छ। १८ घण्टामा एकजनामात्र पनि नयाँ संक्रमित नदेखिनु नै सकारात्मक संकेत भएको उनले बताए।
उनका अनुसार झाडापखालाका बिरामी पनि दिनहुँ घट्दै गएकाले आगामी केही दिनमै हैजा र झाडापखाल दुबैका नयाँ केसहरू न्यून हुने सम्भावना बलियो बनेको छ।