धवलागिरि गाउँपालिकामा दुर्लभ चिरकालिज पन्छी भेटिएपछि संरक्षण अभियान सुरु - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

धवलागिरि गाउँपालिकामा दुर्लभ चिरकालिज पन्छी भेटिएपछि संरक्षण अभियान सुरु

म्याग्दी ,कार्तिक २१

   म्याग्दी — धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा दुर्लभ चिरकालिज पन्छी भेटिएपछि संरक्षण अभियान सुरु गरिएको छ। नेपाल पन्छीविद् संघको हालैको अध्ययनले यी दुबै स्थानलाई चिरकालिजको महत्वपूर्ण बासस्थानका रूपमा पहिचान गरेको हो। अध्ययनमा सहभागी पन्छीविद् विराट रजकका अनुसार मुदीमा तीन जोडी र दरमा सात जोडी चिरकालिज फेला परेका छन्। “गत वर्ष गरिएको प्रारम्भिक अध्ययनपछि स्थानीय विद्यालय र समुदायमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै संरक्षण पहल अघि बढाएका छौं,” उनले बताए। “दुर्लभ पन्छी भएकाले यसको महत्वबारे जनचेतना फैलाउँदै संख्या वृद्धि र संरक्षणमा जोड दिइएको छ।”

NEWSW-1762501167.jpg
   मुदीस्थित बुत्तिविकास र मुनाको धवलागिरि माविका विद्यार्थीका लागि चिरकालिजसम्बन्धी अभिमुखीकरण र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ। साथै रानीखोला र दरखोला सामुदायिक वनका उपभोक्ता समूहका पदाधिकारी, सदस्य तथा स्थानीयलाई संरक्षणसम्बन्धी तालिम प्रदान गरिएको छ।

   जैविक विविधता संरक्षण समाजका अध्यक्ष लक्ष्मण पौडेल, पन्छीविद् संघका केशव चोखाल र विराट रजकले चिरकालिजको परिचय, महत्व र संरक्षण आवश्यकताबारे जानकारी दिएका थिए। पन्छीविद् चोखालका अनुसार चोरीसिकारी, अनियन्त्रित डढेलो र जलवायु परिवर्तनका असर चिरकालिज संरक्षणका मुख्य चुनौती हुन्। “गुँडबाट अण्डा टिप्ने, चल्ला समात्ने, र अण्डा पार्ने समयमा हुने डढेलोका कारण यसको अस्तित्व जोखिममा परेको छ,” उनले भने।

A-1762501150.png
  पन्छीविद् संघले पछिल्ला पाँच वर्षदेखि दातृ संस्था ‘टुलेडोज’को सहयोगमा धवलागिरि गाउँपालिका र मुस्ताङको घाँसा क्षेत्रअन्तर्गत कालीगण्डकी बेसिनमा चिरकालिजको अध्ययन र संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालै सम्पन्न अध्ययनमा कालीगण्डकी क्षेत्रमा १८ जोडी चिरकालिज फेला परेका छन्।

अध्यक्ष पौडेलका अनुसार दुर्लभ पन्छीको संरक्षणले जैविक विविधता र वातावरणीय सन्तुलनमा योगदान दिने मात्र होइन, इकोटुरिज्ममार्फत ग्रामीण अर्थतन्त्र सुदृढ गर्न पनि मद्दत पुर्‍याउनेछ।चिरकालिज सामान्यतया समुद्री सतहदेखि १,४०० देखि ३,६०० मिटर उचाइका क्षेत्रमा पाइन्छ। यो तल्लो तटीय क्षेत्रमा भने पाइँदैन। देख्दा कालिजको पोथीजस्तै लाग्ने भए पनि यसमा स्पष्ट भिन्नता छन्— भालेको पुच्छर लामो, आँखाको रङ रातो र शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ। पोथी आकारमा सानो र पुच्छर छोटो हुन्छ। बिहान सूर्योदय अघि र साँझ सूर्यास्तपछि मात्र यसको विशेष चिर–चिरू आवाज सुन्न सकिने भएकाले यसको नाम “चिरकालिज” रहन गएको हो।

news-1762501576.JPG
  यो पन्छीले भिरालो ठाउँमा बास बनाउने र एकपटकमा सातदेखि १५ वटासम्म अण्डा पार्ने गर्छ। वैशाख, जेठ र असार महिना यसको प्रजनन समय मानिन्छ।

अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, रारा राष्ट्रिय निकुञ्जका साथै म्याग्दी, पर्वत, बागलुङ, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्र चिरकालिजको बासस्थानका रूपमा चिनिएका छन्। नेपाल पन्छीविद् संघका पछिल्ला तथ्यांकअनुसार देशभर चिरकालिजको सङ्ख्या एक हजारभन्दा कम छ। यस प्रजातिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत लोपोन्मुख पन्छीको सूचीमा समावेश गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार