पालिकाकेन्द्रित विकास बहससँगै काठमाडौँ–१० मा चुनावी सरगर्मी - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

पालिकाकेन्द्रित विकास बहससँगै काठमाडौँ–१० मा चुनावी सरगर्मी

कीर्तिपुर , माघ २७


    राजधानी उपत्यकाभित्र परे पनि अपेक्षित विकासबाट पछि परेको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० यस पटकको प्रतिनिधि सभा निर्वाचनमा विशेष चर्चामा छ। काठमाडौँ महानगरपालिकाको सीमा बाहिर पर्ने एक मात्र निर्वाचन क्षेत्र भएकाले यहाँ विकासका माग वर्षौंदेखि उठ्दै आएका छन्। यही पृष्ठभूमिमा यस पटकका चुनावमा स्थानीय मुद्दा बोकेका स्थानीय नेताहरू नै उम्मेदवारका रूपमा अघि आएका छन्।

4-1770704433.jpg
   अघिल्ला निर्वाचनहरूमा अधिकांश दलले केन्द्रीय नेताहरूलाई उम्मेदवार बनाउने प्रचलन तोड्दै यस पटक कांग्रेस, एमाले, रास्वपा, राप्रपासहित प्रायः सबै दलले स्थानीय राजनीतिक पृष्ठभूमि भएका नेताहरूलाई टिकट दिएका छन्। कीर्तिपुर–५ मा जन्मिएर स्थानीय जनप्रतिनिधिको अनुभव बटुलेका नेपाली कांग्रेसका हिमाल कार्की, मजदुर आन्दोलनबाट स्थापित चन्द्रागिरि–इमाखेलका एमाले नेता विनोद श्रेष्ठ, कीर्तिपुर–४ का रास्वपाका प्रदीप विष्ट, दक्षिणकालिकाका राप्रपा नेता बलराम थापा र कीर्तिपुर तथा चन्द्रागिरिसँग सम्बन्धित नेपाल कम्युनिस्ट पार्टीकी रूपा महर्जन यस निर्वाचनका प्रमुख उम्मेदवार हुन्।

3-(1)-1770704432.jpg
     विनोद श्रेष्ठ र रूपा महर्जन यसअघि संविधान सभामा समानुपातिक तर्फबाट सदस्य भइसकेका अनुभवी नेता पनि हुन्। क्षेत्र नम्बर १० ऐतिहासिक रूपमा राजनीतिक आन्दोलनको केन्द्र मानिए पनि केन्द्रीय तहमा प्रतिनिधित्व कमजोर रहँदै आएको गुनासो लामो समयदेखि उठ्दै आएको छ। यस क्षेत्रबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका कांग्रेस नेता राजेन्द्रकुमार केसी यस पटक चुनावी मैदानमा हुनुहुन्न। एमाले उम्मेदवार विनोद श्रेष्ठलगायत यहाँका नेताहरू पार्टीको केन्द्रीय तहभन्दा माथि पुग्न नसकेको अवस्थालाई ध्यानमा राख्दै पार्टीभित्रै स्थानीय उम्मेदवारीको माग बलियो बनेको थियो। कीर्तिपुरमा झन्डै चार दशकदेखि राजनीतिशास्त्र अध्यापन गराउँदै आएका प्राध्यापक डा। प्रेमनारायण अर्याल स्थानीय नेताहरूलाई केन्द्रसम्म पहुँच बढाउने चाहनाले नै यस पटक उम्मेदवारीमा सक्रियता बढेको बताउनुहुन्छ।


   उहाँका अनुसार स्थानीय उम्मेदवारले मतदातासँग प्रत्यक्ष संवाद गर्न सक्ने भएकाले पनि पार्टीहरू यसतर्फ आकर्षित भएका हुन्। भूगोल र जनसङ्ख्याका हिसाबले काठमाडौँकै ठूलो निर्वाचन क्षेत्र मानिने यस क्षेत्रमा ९८ मतदान केन्द्र छन् भने कुल मतदाता ८३ हजार ३०१ छन्। महिला मतदाता ४२ हजार ७१६ ९५१।२८ प्रतिशत० भए पनि महिला उम्मेदवारको सङ्ख्या भने पाँच जनामा सीमित छ। राप्रपाबाट बलराम थापा, नेमकिपाबाट विन्द्रा महर्जन, राष्ट्रिय जनमोर्चाबाट अम्बरबहादुर पौडेल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट केशवराज अर्याल, श्रम संस्कृति पार्टीबाट धनबहादुर श्रेष्ठ, जसपाबाट भागरित साह र उज्यालो नेपाल पार्टीबाट राकेश न्यौपाने पनि चुनावी प्रतिस्पर्धामा छन्।

4-1770704871.png
    यसैगरी पूर्णचन्द्र पौडेल, अनुज प्रधान, कविता पुडासैनी, कुमार खाकी श्रेष्ठ, कृष्णकुमारी नेपाली, दीपकराज पाण्डे, देवकुमार श्रेष्ठ, विनोद बुढाथोकी, मीनबहादुर बुढाथोकी, राजकुमार गिरी र सुलोचना परियार स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन्। अधिकांश उम्मेदवार स्थानीय नै हुन् र उमेरका हिसाबले करिब ५० वर्ष आसपासका छन्। २०४८ सालयता यस क्षेत्रबाट केन्द्रीय नेताहरू उम्मेदवार बन्ने परम्परा रहँदै आएको थियो। यही क्षेत्रबाट एमालेका तत्कालीन महासचिव मदन भण्डारी र पहिलो संविधान सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका थिए। संविधान सभापछिका निर्वाचनहरूमा पनि कांग्रेस र माओवादीले केन्द्रीय नेताहरूलाई नै अघि सारेका थिए। यस पटक भने स्थानीय उम्मेदवार हावी भएपछि चुनावी अभियानमा पनि स्थानीय विकास, सांस्कृतिक सम्पदा संरक्षण, पूर्वाधार विस्तार र तीनवटै नगरपालिका—कीर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली—को सन्तुलित विकास मुख्य एजेन्डा बनेका छन्।

4-1770704433.jpg
    कांग्रेस उम्मेदवार हिमाल कार्की क्षेत्रको समग्र विकासका लागि संसद्मा जनभावनाअनुसार नीति निर्माणमा सक्रिय रहने बताउनुहुन्छ। एमालेका विनोद श्रेष्ठ सम्पदाको अन्तर्राष्ट्रिय पहिचान, श्रमजीवीको सम्मान र सामाजिक सुरक्षा विस्तारलाई आफ्नो प्राथमिकता भएको बताउनुहुन्छ। रास्वपाका प्रदीप विष्ट र नेकपाकी रूपा महर्जन भने जेन–जीको भावना अनुसार सामाजिक र आर्थिक रूपान्तरण तथा युवाको प्रभावकारी सहभागिताका लागि उम्मेदवारी दिएको बताउँछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार