बेनी नगरपालिकामा ११ वर्षपछि सुवासलाई आमाको नामबाट नागरिकता - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

बेनी नगरपालिकामा ११ वर्षपछि सुवासलाई आमाको नामबाट नागरिकता

म्याग्दी, माघ २८

      बेनी नगरपालिका–२, खबराका सुवास घिमिरेले लामो ११ वर्षको प्रयासपछि अन्ततः नागरिकता प्राप्त गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई आमाको नामबाट नागरिकता प्रदान गर्नुभयो। बुवाको पहिचान नखुलेका कारण १६ वर्षको उमेरदेखि नागरिकता बनाउन प्रयासरत सुवासले पटक–पटकको प्रक्रियापछि सफलता हात पार्नुभएको हो। नागरिकता पाएपछि आफूले वास्तविक अर्थमा नागरिक भएको अनुभूति भएको उहाँले बताउनुभयो।

4-1770795577.jpg
    सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सुवासलाई उहाँकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको हो। नागरिकताका लागि तीन वर्षअघि नै आवश्यक कागजात पूरा गरी आवेदन दिइएको थियो। नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन ९२०८२० तथा नियमावलीको चौथो संशोधन, २०८२ अनुसार नागरिकता जारी गरिएको उहाँले जानकारी दिनुभयो।

1-1770795577.jpg
     शारीरिक रूपमा अपाङ्गता भएका सुवास नागरिकता अभावमा सामाजिक सुरक्षा भत्ता, बैंक खाता सञ्चालन र रोजगारीका अवसरबाट वञ्चित हुँदै आउनुभएको थियो।  हाल उहाँ र आमा कमला आफन्तको घरमा आश्रित छन्। कमलाका जेठा र माइला छोरा भारतमा कार्यरत छन् र उनीहरूले नागरिकता बनाइसकेका छन् भने साइला छोराले अझै नागरिकता पाउन बाँकी रहेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार