रोल्पाको थबाङ गाउँपालिका उज्यालोमा, पहिलोपटक केन्द्रीय प्रसारण लाइन जोडियो
रुकुमपूर्व ,कात्तिक २४
रुकुमपूर्व — १० वर्षे सशस्त्र जनयुद्धको आधारभूमि मानिने रोल्पाको थबाङमा पहिलोपटक नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ। अब थबाङ गाउँपालिका–१ र २ का गल्चोर, मराङ्थाना र ठूलो गाउँका बासिन्दाले स्थायी रूपमा विद्युत उपयोग गर्न पाउने भएका छन्।

लुम्बिनी प्रदेशका सांसद दिपेन्द्रकुमार पुनले स्विच थिचेर विद्युत प्रवाहको औपचारिक शुभारम्भ गरे। उनले २०६४ सालअघि रोल्पामा विद्युत पहुँच १९ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै हाल ७५ प्रतिशतभन्दा बढी घरधुरीमा बत्ती पुगेको बताए। “अर्थमन्त्री हुँदा रोल्पाका गाउँमा विद्युत विस्तारका लागि बजेट ल्याउन सहज भयो, त्यसकै नतिजा आज थबाङसम्म बिजुली पुगेको हो,” उनले भने।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रोल्पाका प्रमुख अशेश्वर शाहका अनुसार करिब एक अर्ब चार करोड रुपैयाँको लगानीमा यो आयोजना सम्पन्न भएको हो। “थबाङमा बत्ती बाल्नु मात्रै होइन, यो आर्थिक रूपान्तरणको सुरुआत हो,” शाहले भने। प्राधिकरणले बाँकी वडामा पनि अर्को वर्षभित्र प्रसारण लाइन विस्तार गर्ने तयारी गरेको छ।
गाउँपालिका अध्यक्ष ऋषिकेश बुढामगरले विद्युत आपूर्तिसँगै करिब २५० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए। “अब पढाइ, सञ्चार, व्यवसाय र दैनिक जीवनका हरेक काममा सहजता आउनेछ,” उनले भने।

विद्युत विस्तारसँगै थबाङमा आर्थिक गतिविधि र उद्यमशीलता बढ्ने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले लामो प्रतीक्षापछि गाउँ उज्यालो बनेको भन्दै खुशी व्यक्त गरेका छन्।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
