हल्दीबारी गाउँपालिकाले भुसुडी खोलामा पक्की पुल उद्घाटन गर्यो
हल्दीबारी, कात्तिक २६
झापाको हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वन क्षेत्रअन्तर्गत भुसुडी खोलामा निर्माण गरिएको पक्की पुलको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्त रूपमा पुलको उद्घाटन गरे।

काठे पुल विस्थापन गर्ने लक्ष्यसहित गाउँपालिकाले निर्माण गरेको यो पक्की पुल २६.८ मिटर लम्बाइको छ र यसको निर्माण लागत करिब १ करोड ३० लाख रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ। भुसुडीका दुई र भुतेनी खोलाको एक गरी तीनवटा पुल निर्माणका लागि ४ करोड ६७ लाख ५४ हजार ८८७ रुपैयाँमा ठेक्का दिइएको थियो। तीमध्ये भुतेनी खोलाको पुल सञ्चालनमा आइसकेको छ भने भुसुडी (लक्ष्मी मा.वि. पूर्व) पुल अन्तिम चरणमा पुगेको छ।
२०७९ मंसिर ७ गतेदेखि निर्माण सुरु गरिएको यो पुल जलथल पर्यटकीय मार्ग अन्तर्गत पर्ने भएकाले स्थानीयवासीका लागि यातायातमा सहजता र ग्रामीण क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), वडाध्यक्षहरू, शाखा प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दा र कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सिमित स्रोतसाधनबीच गाउँपालिकाको आफ्नै बजेट र स्थानीय सहयोगबाट पुल निर्माण सम्पन्न गर्न सफल भएको बताए। प्रमुख प्रशासकीय अधिकृत बनले आयोजना लागत र प्राविधिक पक्षबारे जानकारी दिए भने कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरे।

गाउँपालिकाले यो पुललाई ग्रामीण यातायात सञ्जाल विस्तार र आर्थिक गतिविधि प्रवर्द्धनतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
