साकेला गाउँपालिकामा बाँसकला उद्योग सञ्चालन
खोटाङ,३० कार्तिक
खोटाङ — साकेला गाउँपालिकामा स्थानीय स्रोत, सीप र कच्चा पदार्थको उपयोग गर्दै बाँसकलामा आधारित उद्योग औपचारिक रूपमा सञ्चालनमा आएको छ। गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमअन्तर्गत गाउँपालिका प्रमुख रविप्रकाश राईले बुधबार उद्योगको उद्घाटन गरेका हुन्।
गाउँपालिकाले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर आर्थिक प्रणाली विकसित गर्ने लक्ष्यसहित उद्योग स्थापना गरेको जनाइएको छ।
“लघुउद्यमले युवालाई सीप र रोजगारी दुवै दिन्छ। बाँसकला उद्योगले गाउँपालिकाको पहिचान तथा आर्थिक प्रगतिमा महत्वपूर्ण टेवा पुर्याउनेछ,” प्रमुख राईले उद्घाटन समारोहमा भने।
उद्योगमार्फत स्थानीय युवालाई सीपमूलक तालिम प्रदान गरी बाँसका विभिन्न प्रयोगका सामग्री उत्पादन, नमुना उत्पादनको बजार विस्तार तथा व्यावसायिक उद्यम विकास गर्ने योजना छ।
“यहाँ उत्पादन भएका सामग्रीलाई बाहिरी बजारसम्म पुर्याउन सकेमा राम्रो आयस्रोत बन्न सक्छ,” राईले भने, “नागरिकले सिर्जनात्मक क्षमता विकास गरेमा परिवर्तन स्वाभाविक रूपमा आउँछ।”

दक्ष प्रशिक्षकको सहयोगमा सञ्चालन गरिएको तालिमका सहभागी उद्यमीहरूले आगामी दिनमा उद्योग स्वयम् सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। कोशी प्रदेश सरकारको कृषि उद्योग मन्त्रालयअन्तर्गतको बहुवर्षीय योजनाबाट यस उद्योगका लागि चालु वर्षमा १० लाख रुपैयाँ उपलब्ध गराइएको लेखा शाखा प्रमुख उत्तम आचार्यले जानकारी दिए।
उद्योग स्थापना कार्यक्रम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. २ रतन्छाका वडाध्यक्ष जितेन्द्रकुमार राई, वडा नं. ३ का वडाध्यक्ष गोविन्द तामाङ, मात्तिम बिर्ता इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक फाइदलसिं लिम्बु, सूचना अधिकारी डीएम चाम्लिङ राईसहित स्थानीय उद्यमीहरूको सहभागिता थियो।

गाउँपालिकाले गत आर्थिक वर्षमा सबै वडाका उद्यमीलाई समावेश गर्दै बाँसकला तालिमसमेत सञ्चालन गरेको थियो, जसको निरन्तरताका रूपमा यो उद्योग स्थापना गरिएको बताइएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
