सिन्धुलीका पालिकामा होम डेलिभरी घट्दै, बर्थिङ सेन्टरमा भरोसा बढ्दै
सिन्धुली, मंसिर २४
सिन्धुली जिल्लाका ग्रामीण क्षेत्रमा बर्थिङ सेन्टरको संख्या बढेपछि घरमै बच्चा जन्माउने प्रचलन तीव्र रूपमा घटेको छ। गाउँ–गाउँमा प्रसूति सेवा सहज भएपछि गर्भवती महिलाहरू सुरक्षित प्रसूति गराउन स्वास्थ्य संस्थातर्फ आकर्षित भइरहेको स्थानीयवासीले बताएका छन्।

पहिले प्रसूति सेवाका लागि राजधानी वा सहरी अस्पताल धाउनुपर्ने बाध्यता रहे पनि अब जिल्लामै गुणस्तरीय सेवा उपलब्ध भएपछि महिलालाई सहज भएको जनाइएको छ। तीनपाटन–११ की बिनिता दाहालका अनुसार पहिले गर्भवतीलाई ‘रेलको टिकट’ बोकेर छिटो सुत्केरी हुने चलन थियो, तर अब त्यो अन्धविश्वास हराउँदै गएको छ।

फिक्कल गाउँपालिका–५ का वडाध्यक्ष बैकुण्ठलाल पहाडीका अनुसार सो वडामा अहिले होम डेलिभरी शून्यमा झरेको छ। गर्भवतीले नियमित स्वास्थ्य जाँच गरिरहेकाले उनीहरू स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराइरहेका छन्। पालिकाले स्वास्थ्य जाँचका प्रत्येक पटकका लागि एक हजार रुपैयाँ यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको छ।
सुनकोसी गाउँपालिकामा पनि घरमै बच्चा जन्माउने संख्या कम भएको स्वास्थ्य शाखा संयोजक ओमप्रकाश झाले बताए। उनका अनुसार दक्ष जनशक्ति र उपकरणसहित बर्थिङ सेन्टर विस्तार भएसँगै सुरक्षित प्रसूति दर बढ्दै गएको छ।

सिन्धुलीमा हाल ४१ वटा स्वास्थ्य चौकीबाट प्रसूति सेवा उपलब्ध छन्। दुधौली, तिनपाटन, फिक्कल, सुनकोसी, कमलामाई, गोलन्जोर, घ्याङ्लेख, हरिहरपुरगढी र मरिण गाउँपालिकामा प्रसूति केन्द्र सञ्चालनमा छन्। गत आर्थिक वर्षमा सुत्केरी भएका १,८३९ मध्ये १,६१८ महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
