रत्ननगर र भरतपुर पालिकामा गाईभैँसीमा खोरेत संक्रमण - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

रत्ननगर र भरतपुर पालिकामा गाईभैँसीमा खोरेत संक्रमण

चितवन,२८ मङ्सिर

   चितवन जिल्लामा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा पालिएका गाईभैँसीमा उक्त रोगको संक्रमण भेटिएको हो।

1-1765701400.JPG
   पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ स्थित एक गाई फार्ममा खोरेत रोग प्रयोगशालाबाट पुष्टि भएको छ। रत्ननगर नगरपालिकाका केही गाई फार्ममा पनि खोरेतका लक्षण देखिए तापनि त्यसको प्रयोगशाला नतिजा आउन बाँकी रहेको उनले जानकारी दिए। मङ्सिर ११ गते भरतपुर क्षेत्रका गाईको नमूना खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएको र मङ्सिर १६ गते रोग पुष्टि भएको हो।

3-1765701407.jpg
   डा. न्यौपानेका अनुसार हाल रोग देखिएका क्षेत्रलाई केन्द्रित गरी खोरेतविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। “संक्रमित क्षेत्रका पशुमा खोप लगाउने काम भइरहेको छ, अब जिल्लाभरि नै खोप अभियान विस्तार गर्ने योजना छ,” उनले बताए।

2-1765701401.jpg
  भाइरसका कारण सर्ने खोरेत रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिनसम्म १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, जिब्रोको छाला जाने, खुट्टा तथा मुखमा घाउ देखिने, दाना–पानी नखाने, दूध उत्पादन घट्ने र गर्भवती पशुको गर्भ तुहिने जस्ता लक्षण देखिने गर्छन्। यो रोग विशेषगरी गाईभैँसी र बुँगुरमा बढी देखिने गरिएको छ।

4-1765701409.jpg
   जिल्लामा अधिकांश पशुमा खोरेतविरुद्धको खोप लगाइएको भए पनि बाहिरबाट खरिद गरेर ल्याइएका पशुमा संक्रमण देखिन सक्ने पशु सेवा कार्यालयको अनुमान छ। त्यसैले बाहिरबाट ल्याइएका पशुलाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राखेर मात्र बथानमा मिसाउन र संक्रमित पशुलाई छुट्टै राखेर उपचार गर्न कार्यालयले किसानलाई आग्रह गरेको छ।

nawarajpur-gaunpalika_yhzKYti5Zm-1765701516.webp
   जङ्गली जनावरबाट पनि रोग सर्न सक्ने भएकाले चरनमा लैजाने गाईभैँसीमा संक्रमणको जोखिम बढी हुने डा. न्यौपानेले बताए। उनले प्रत्येक फार्ममा जैविक सुरक्षा विधि अपनाउन र वर्षमा दुईपटक खोरेतविरुद्धको खोप अनिवार्य रूपमा लगाउन किसानलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार