लोमन्थाङ गाउँपालिकामा वन्यजन्तु जोगाउन सीमा गस्ती तीव्र - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

लोमन्थाङ गाउँपालिकामा वन्यजन्तु जोगाउन सीमा गस्ती तीव्र

मुस्ताङ, २९ मङ्सिर


   मुक्तिनाथ मुस्ताङ  चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–छोसेर क्षेत्रमा वन्यजन्तुको संरक्षणलाई लक्षित गर्दै नेपाल–चीन सीमा क्षेत्रमा संयुक्त गस्तीलाई तीव्र बनाइएको छ।

2-1765793548.jpg
   जाडोयाममा अत्यधिक चिसोका कारण उच्च हिमाली चरन क्षेत्रमा हिउँ जमेपछि वन्यजन्तु तल झर्ने क्रम बढ्ने भएकाले चोरी–शिकारी नियन्त्रण र वन्यजन्तुको अवस्था अनुगमन गर्न गस्ती सुरु गरिएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले नेपाल–चीन सीमा क्षेत्रको २७ नम्बर पिल्लरसम्म पुगेर संयुक्त गस्ती गरेको छ।

5-1765793583.jpg
   एक्याप इलाका कार्यालय लोमन्थाङका प्रमुख उमेश पौडेलका अनुसार जाडोयाम वन्यजन्तुका लागि चुनौतीपूर्ण समय हो। “आहाराको अभाव र बस्ती नजिक आउँदा शिकारको जोखिम बढ्ने भएकाले नियमित गस्ती आवश्यक हुन्छ,” उनले भने। गस्तीका क्रममा संरक्षण क्षेत्रमा निगरानी, चरन खर्कमा राखिएका पासो हटाउने तथा अवैध ओसारपसार नियन्त्रणमा सहयोग पुगिरहेको उनले जानकारी दिए।

1-1765793543.JPG
  माथिल्लो मुस्ताङ क्षेत्रमा मङ्सिरदेखि फागुनसम्म चोरी–शिकारीको जोखिम बढी हुने भएकाले सुरक्षा निकाय र स्थानीय समुदायसँग सहकार्य गरी नियमित गस्ती गर्दै आइएको छ। जाडोयाममा बस्तीमा जनसंख्या कम हुने र वन्यजन्तुले घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने सम्भावना रहने भएकाले समुदायस्तरमै निगरानी प्रणाली समेत विकास गरिएको छ।

3-1765793578.jpg
  एक्यापले बस्ती आसपास वन्यजन्तुको गतिविधि अनुगमन गर्न क्यामेरा जडानसमेत गरेको छ। संयुक्त गस्तीमा एक्यापका कर्मचारी, सशस्त्र प्रहरी बल (बिओपी) छोसेरका प्रहरी निरीक्षक अरुण भण्डारी तथा इलाका प्रहरी कार्यालय छोसेरका असई विष्णु रानाभाट सहभागी थिए।

4-1765793577.jpg
   समुद्री सतहदेखि करिब ४ हजार ९ सय मिटर उचाइसम्म पुगेर गरिएको अनुगमनका क्रममा चरन क्षेत्रमा हिउँ जमेको भए पनि आहारा तथा शिकारी प्रजातिका वन्यजन्तुलाई ठूला समस्या नदेखिएको टोलीले जनाएको छ। कोरला नाकास्थित २४ नम्बर पिल्लरदेखि २७ नम्बर पिल्लरसम्मको दूरी करिब ७ किलोमिटर छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार