कैलालीका पालिकामा बेरुजुको चाङ, ४ अर्ब नाघ्यो - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
पालिका विशेष

कैलालीका पालिकामा बेरुजुको चाङ, ४ अर्ब नाघ्यो

धनगढी, २९ मङ्सिर


  धनगढी सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा बेरुजुको आकार झनै बढ्दै जाँदा वित्तीय अनुशासन कमजोर बन्दै गएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२ को प्रतिवेदनअनुसार कैलाली जिल्लाका पालिकाहरूमा बेरुजु फर्छ्यौट हुन नसकी वर्षेनि थपिँदै गएको हो।

4-1765795997.jpg
  कैलालीका पालिकामध्ये गोदावरी र घोडाघोडी नगरपालिका बेरुजु व्यवस्थापनमा सबैभन्दा कमजोर देखिएका छन्। गोदावरी नगरपालिकाले पछिल्ला तीन आर्थिक वर्षमा पुरानो बेरुजु फर्छ्यौट गर्न नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

महालेखाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा गोदावरी नगरपालिकाको बेरुजु ४३ करोड ८६ लाख ३१ हजार रुपैयाँ थियो। त्यसपछि पनि बेरुजु घट्नुको साटो थपिँदै गयो। आर्थिक वर्ष २०७९/०८० मा ५ करोड ४२ लाख ७६ हजार र २०८०/०८१ मा थप ५ करोड ८ लाख ७३ हजार रुपैयाँ बेरुजु थपिएपछि नगरपालिकाको कुल बेरुजु ५४ करोड ३७ लाख रुपैयाँ नाघेको छ। सामान्य प्रारम्भिक प्रतिक्रिया भए पनि अध्यावधिक बेरुजु फर्छ्यौटमा नगरपालिकाले चासो नदेखाएको प्रतिवेदनको निष्कर्ष छ।

2-1765795953.jpg
  यस्तै, घोडाघोडी नगरपालिकाको बेरुजु पनि ५२ करोड ७१ लाख रुपैयाँभन्दा माथि पुगेको छ। अघिल्ला दुई आर्थिक वर्षमा बेरुजु शून्यमा झारिएको देखिए पनि आर्थिक वर्ष २०८०/०८१ मा जम्मा ६२ हजार रुपैयाँ मात्र फर्छ्यौट गरिएको छ। सोही वर्ष ३ करोड १७ लाख रुपैयाँभन्दा बढी नयाँ बेरुजु थपिँदा कुल बेरुजु घट्न सकेन।

जिल्लाभर ४ अर्बभन्दा बढी बेरुजु

महालेखा परीक्षकको प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा मात्रै २ अर्ब ११ करोड रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ। यसमा कैलाली जिल्लाका १३ स्थानीय तहको हिस्सा उल्लेख्य रहेको छ।

हाल कैलाली जिल्लाका सबै पालिकाको कुल अध्यावधिक बेरुजु ४ अर्ब ११ करोड ७ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

3-1765795995.jpg
 पालिकागत बेरुजु (रुपैयाँमा)

गोदावरी नगरपालिका :५४ करोड ३७ लाख

घोडाघोडी नगरपालिका : ५२ करोड ७१ लाख

लम्कीचुहा नगरपालिका : ५२ करोड ६४ लाख

भजनी नगरपालिका: ३७ करोड ३९ लाख

टीकापुर नगरपालिका : ३४ करोड ५१ लाख

गौरीगंगा नगरपालिका: ३३ करोड ३६ लाख

धनगढी उपमहानगरपालिका :३० करोड ६८ लाख

जानकी गाउँपालिका : २१ करोड ३० लाख

बर्दगोरिया गाउँपालिका : १८ करोड ४२ लाख

चुरे गाउँपालिका : १६ करोड ७१ लाख

जोशीपुर गाउँपालिका : १२ करोड ९७ लाख

1-1765795952.JPG
  गत आर्थिक वर्षमा मात्रै चुरे गाउँपालिकामा ७ करोड ६ लाख, लम्कीचुहामा ५ करोड ५७ लाख र भजनी नगरपालिकामा ४ करोड ७४ लाख रुपैयाँ नयाँ बेरुजु थपिएको छ। धनगढी उपमहानगर र टीकापुर नगरपालिकामा पनि चार करोडभन्दा बढी बेरुजु थपिएको देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पालिका विशेष