घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
घोराही, पुस १६
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीस्वरूप दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। घोराही उपमहानगरपालिका–१५ मा रहेको प्रदेश निर्वाचन कार्यालयको भवनमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो। बुधबार आयोजित कार्यक्रममा दाङ जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको अध्यक्षतामा कार्यालय औपचारिक रूपमा स्थापना गरिएको हो।

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट एक जना अपाङ्ग, एक जना महिला र एक जना अन्य समूहका गरी तीन सदस्यको पद रिक्त हुँदैछ। ती रिक्त पदका लागि माघ ११ गते घोराहीमा निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यतालिकाअनुसार पुस १९ गते मतदाताको नामावली प्रकाशन गरिनेछ। पुस २० गते नामावलीविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ भने पुस २१ र २२ गते उजुरीमाथि छानबिन तथा कारबाही गरिनेछ। पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम छ।

त्यसैगरी पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता तथा प्रारम्भिक सूची प्रकाशन हुनेछ। पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी लिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २६ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। माघ ११ गते मतदान सम्पन्न गरिने कार्यतालिका रहेको छ।

लुम्बिनी प्रदेशमा हाल ८७ जना प्रदेशसभा सदस्य तथा १२ जिल्लाका १०९ स्थानीय तहका २१८ जना प्रमुख र उपप्रमुख गरी कुल ३०५ जना मतदाता रहेका छन्।कार्यालय स्थापना कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले लोकतन्त्रलाई सुदृढ बनाउन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य भएको बताए।
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1770649988.jpg)
-1770567812.jpg)