कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
पालिका विशेष

कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा

कञ्चनपुर ,९ माघ

   कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सिमानामा रहेको गडविजुला ताल संरक्षणको अभाव र लामो समयदेखिको सीमा विवादका कारण गम्भीर संकटमा परेको छ। कहिल्यै २२ बिघासम्म फैलिएको यो प्राकृतिक ताल अहिले करिब पाँच बिघामा मात्र सीमित हुन पुगेको छ।

2-1769143547.jpg
   दुवै स्थानीय तहबीच ताल कुन भूभागमा पर्छ भन्ने विषयमा स्पष्टता नहुँदा संरक्षणका काम अघि बढ्न सकेका छैनन्। यसै कारण तालको ठूलो क्षेत्र पुरिँदै गएको छ भने बाँकी भागमा मानव अतिक्रमण बढ्दो क्रममा छ। स्थानीय लालसिंह बोहराका अनुसार स्वामित्व विवादले ताल संरक्षणलाई ओझेलमा पारेको छ। “आफ्नो–आफ्नो दाबी छ, तर संरक्षण गर्ने जिम्मेवारी कसैले लिएको छैन,” उहाँले भन्नुभयो। तालको पूर्वी भागमा अहिले ५० भन्दा बढी परिवार बसोबास गरिरहेका छन्। अतिक्रमित जग्गामा खेतीसमेत भइरहेको स्थानीय बताउँछन्। विसं २०५४ सालपछि ताल आसपास बस्ती विस्तार हुँदै गएपछि अतिक्रमण तीव्र भएको हो। स्थानीय गोपालसिंह महराका अनुसार तालको जग्गा मिचेर खेती गर्ने क्रम बढेपछि ताल क्रमशः पुरिँदै गएको छ। “पहिले गहिरो र स्वच्छ ताल अहिले खेतजस्तै देखिन थालेको छ,” उहाँले गुनासो गर्नुभयो।

3-1769143545.jpg
   तालको क्षेत्रफल घट्दै जाँदा आसपासको भूमिगत जलस्तरमा समेत असर परेको छ। साथै सिमसार क्षेत्रसँग जोडिएको जैविक विविधता पनि संकटमा परेको छ। स्थानीय भजनी रानाका अनुसार केही वर्षअघिसम्म हिउँदमा देखिने जलपक्षीहरू अहिले प्रायः देखिन छाडेका छन्। पानीको स्रोत सुक्दै जाँदा सम्पूर्ण पारिस्थितिक प्रणाली नै असन्तुलित बन्दै गएको छ।

4-1769143591.webp
  संघीय संरचनाअघि तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले गडविजुला ताललाई ठेक्कामा दिएर आम्दानी गर्दै आएको थियो। संघीयतापछि प्राकृतिक स्रोत स्थानीय तहको अधिकारमा आए पनि दुवै पालिकाले स्वामित्वमा दाबी गरे तापनि संरक्षणको जिम्मेवारी लिन चासो देखाएका छैनन्। सीमा विवाद समाधानका लागि जिल्ला समन्वय समिति कञ्चनपुरले पटक–पटक पहल गरे पनि ठोस निष्कर्ष ननिस्किएको बताइएको छ। जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराका अनुसार दुवै पालिकाबीच सीमा यकिन गर्न प्राविधिक टोलीमार्फत नापजाँच गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन। “सहमति कागजमै सीमित हुँदा तालको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ,” उहाँले भन्नुभयो।

3-(1)-1769143590.jpg
      कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाका अनुसार गडविजुला ताल क्षेत्र गाउँ विकास समिति हुँदादेखि नै नगरपालिकाको स्वामित्वमा रहँदै आएको हो। आरक्ष विस्थापितको बस्ती विस्तार भएपछि लालझाडी गाउँपालिकाले आधा ताल आफ्नो क्षेत्रभित्र पर्ने दाबी गरेपछि विवाद चुलिएको उहाँको भनाइ छ। नापी विभागको टोली बोलाएर सीमा निर्धारण गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पालिका विशेष