बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
बर्दिया, माघ २८
जब्दीघाटमा सञ्चालन हुँदै आएको काठको पुल अब निःशुल्क बनेपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ। यसअघि शुल्क तिरेर पुल तर्न बाध्य सर्वसाधारणलाई नगरपालिकाले पहल गरेपछि निःशुल्क सेवा उपलब्ध गराइएको हो।

गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने उक्त काठेपुल सञ्चालनका लागि बारबर्दिया नगरपालिकाले माघ १५ गतेदेखि जेठ मसान्तसम्मका लागि पाँच लाख रुपैयाँ विनियोजन गरी मर्मत तथा सञ्चालनको जिम्मा दिएको छ। यसअघि ठेकेदारमार्फत शुल्क असुलीको व्यवस्था रहेकामा अब पुल सञ्चालन गरेबापत ठेकेदारलाई नगरपालिकाले नै भुक्तानी गर्ने व्यवस्था गरिएको नगरप्रमुख छविलाल थारूले जानकारी दिनुभयो। उहाँका अनुसार सर्वसाधारणलाई सहज आवतजावतको सुविधा दिन पुल निःशुल्क गरिएको हो।

नदीमा पानीको सतह घटेसँगै गत मङ्सिरदेखि अस्थायी रूपमा काठेपुल निर्माण गरिएको थियो। पुल प्रयोग गरेबापत ठेकेदारले प्रतिव्यक्ति १० रुपैयाँदेखि मोटरसाइकल, अटोरिक्सालगायत सवारी साधन र पशुपंक्षीसम्मका लागि फरक–फरक शुल्क लिने गरेको थियो। गत साउनदेखि माघ १५ गतेसम्मका लागि करिब १८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। पुलमा शुल्क लिएको विषय सार्वजनिक भएपछि नगरपालिकाले आवश्यक तयारी पूरा गरी निःशुल्क सेवा लागू गरेको हो। स्थानीय यसु केसीका अनुसार पुल निःशुल्क भएपछि दैनिक आवतजावत सहज र सुलभ भएको छ।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
