परशुराम नगरपालिकाले फरक शैलीमा मनायो स्थापना दिवस
धनगढी, २९ मङ्सिर
डडेल्धुराको भित्री मधेस क्षेत्रमा अवस्थित परशुराम नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवस परम्परागत औपचारिकताभन्दा फरक ढंगले मनाएको छ। नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल परशुरामधामको महाकाली नदी किनारमा कार्यपालिका बैठक आयोजना गर्दै सरसफाइ अभियान र विभिन्न क्षेत्रका प्रतिभा सम्मानमार्फत स्थापना दिवस मनाएको हो।

नगर प्रमुख भरत बडायर जोशीका अनुसार यस वर्षको स्थापना दिवस भाषण र औपचारिक कार्यक्रममै सीमित नराखी व्यवहारिक र सन्देशमूलक बनाइएको हो। स्थापना दिवसकै अवसरमा स्कन्ध पुराणमा वर्णित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको परशुरामधाम क्षेत्रमा बृहत सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम गरिएको छ। सो अभियानमा नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सञ्चारकर्मी र स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

धामको धार्मिक पवित्रता र पर्यटकीय महत्वलाई उजागर गर्ने उद्देश्यले खुला आकाशमुनि महाकाली नदी किनारमै कार्यपालिका बैठक आयोजना गरिएको नगर प्रमुख जोशीले बताए। उक्त बैठकबाट भएका निर्णयअनुसार नगरपालिकाले विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
स्थापना दिवसको अवसरमा नेपाल सरकारका उपसचिव वीरबहादुर धामी र इन्जिनियर दीपक नेगीलाई ‘परशुराम आइकन अवार्ड–२०८२’ प्रदान गरिएको छ। यस्तै, समाजसेवामा योगदान पुर्याएका स्थानीय राजेश जोशी र ८८ वर्षीया आकृति पाण्डेयलाई जनही ५० हजार रुपैयाँसहित ‘परशुराम अचिभर्स अवार्ड’ बाट सम्मान गरियो।
खेलकुदतर्फ बक्सिङका सुरेश चुनारा र योग क्षेत्रमा सक्रिय पुष्पा नाथलाई सम्मान गरिएको छ भने कृषितर्फ नरेन्द्र नेगी र पशुपालनमा उत्कृष्ट कार्य गरेका मिलन घिमिरेलाई जनही ५१ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ। शिक्षा क्षेत्रको गुणस्तर सुधारमा प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थीहरूलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको छ। सम्मानित विद्यार्थीहरूमा कक्षा ८ का मोहन थापा मगर, आयुष भट्ट र प्रतिभा भट्ट, कक्षा १० का किशोर गिरी र ऋतिका पनेरु तथा कक्षा १२ का दीपेन्द्र बोहरा र खगन्ति बोहरा रहेका छन्।

त्यस्तै, विकास निर्माणमा गुणस्तरीय कार्य गरेको भन्दै ‘सिगास निर्माण सेवा’ लाई उत्कृष्ट निर्माण व्यवसायीका रूपमा सम्मान गरिएको छ भने उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पनि सोही अवसरमा पुरस्कृत गरिएको छ। धार्मिक पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र स्थानीय प्रतिभाको सम्मानलाई केन्द्रमा राखेर मनाइएको स्थापना दिवसले सकारात्मक सन्देश दिएको नगर प्रमुख जोशीले बताए।
वि.सं. १२ वर्षअघि तत्कालीन जोगबुढा र शीर्ष गाविस गाभिएर मंसिर १६ गते घोषणा भएको परशुराम नगरपालिका भूगोल र जनसंख्या दुवै दृष्टिले डडेल्धुरा जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह हो।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
