मटिहानी नगरपालिकाद्वारा किसानलाई अनुदानमा गहुँको बिउ र हिउँदे घाँस वितरण - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

मटिहानी नगरपालिकाद्वारा किसानलाई अनुदानमा गहुँको बिउ र हिउँदे घाँस वितरण


महोत्तरी, १ पुस

   महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले कृषि उत्पादन तथा किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले नगरभित्रका किसानलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बिउ तथा हिउँदे घाँस वितरण कार्यक्रम सुरु गरेको छ।

1-1765877650.JPG
  नगरपालिकाले कृषकको उत्पादनशीलता बढाउने लक्ष्यसहित यसअघि सञ्चालन गर्दै आएका कृषि कार्यक्रमको निरन्तरताका रूपमा गहुँको बिउ र हिउँदे घाँस वितरण थालेको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो। उहाँका अनुसार आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम अघि बढाइएको हो।

4-1765877671.jpg
  नगरप्रमुख मण्डलले अनुदानमा वितरण गरिएको उन्नत जातको गहुँको बिउले उत्पादन र उत्पादकत्व दुवै वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। किसानको जीवनस्तर उकास्न कृषि र पशुपालन क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको उहाँको भनाइ छ।

6-1765877680.jpg
  नगरपालिकाको कृषि शाखा प्रमुख सन्ध्या साहले पालिकाभित्रका करिब ५०० जना गहुँ खेती गर्ने किसानलाई लक्षित गरी बिउ वितरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस कार्यक्रमले किसानलाई तत्काल राहत पुग्नुका साथै आगामी सिजनमा गहुँ उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

3-1765877691.jpg
   कृषि शाखाका सह–संयोजक टङ्कप्रसाद उपाध्यायले वडाको सिफारिस र किसानको नागरिकताको प्रतिलिपिका आधारमा मात्र बिउ वितरण भइरहेको बताउनुभयो। वास्तविक किसानलाई अनुदानको सुविधा पुर्‍याउने उद्देश्यले प्रक्रिया अपनाइएको उहाँले स्पष्ट पार्नुभयो।यसैबीच, नगरपालिकाले पशुपालक किसानलाई लक्षित गरी हिउँदे घाँसको बिउ वितरणसमेत सुरु गरेको छ। पशु आहारको अभाव न्यूनीकरण गर्दै दूध, मासु तथा पशुपालनबाट हुने आम्दानी वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

2-1765877649.jpg
  पशु सेवा शाखाका प्राविधिक दिलीपकुमार यादवका अनुसार नगरपालिकाभित्रका करिब ५ सय जना पशुपालक किसानलाई बर्सिम (बरसिम) र जौको हिउँदे घाँसको बिउ वितरण गरिनेछ। यी घाँसहरू पोषणयुक्त, छिटो बढ्ने र पशुपालनका लागि उपयोगी रहेको उहाँले बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार