बेनी नगरपालिकाद्वारा मङ्गलाघाटमा नयाँ खेलमैदान निर्माण
म्याग्दी , १ पुस
म्याग्दी बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर नयाँ खेलमैदान निर्माण भएको छ। बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइको खेलमैदान तयार पारेका छन्। डोजर प्रयोग गरी सम्याइएको मैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो पारिएको छ।

उपभोक्ता समितिका अध्यक्ष हिक्मत शेरचनका अनुसार खेलमैदान निर्माणले बस्तीमाथिबाट आउने बाढी रोक्ने काम पनि गरेको छ। “खेलमैदानको संरचनाले बराहपाखोबाट आउने बाढी सिधै मङ्गलाघाटको बस्तीमा पुग्नबाट रोक्छ,” उहाँले भन्नुभयो। साथै, बालबालिका र युवायुवतीलाई सडकमा खेल्दा हुने दुर्घटनाको जोखिम पनि घटेको उहाँले बताउनुभयो।

नयाँ खेलमैदानमा भलिबल, बास्केटबल, ब्याडमिन्टन र तारोखेल सञ्चालन गर्न सकिन्छ। चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु १३ लाख सहयोग उपलब्ध गराएको छ। यसबाहेक, उपभोक्ता समितिले बेनी–दरवाङ सडकदेखि खेलमैदानसम्म पैदलमार्ग, तारजाली, घेराबार र प्यारापिट पनि निर्माण गरेको छ।
पहिलेका वर्षमा पनि वार्षिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्मको बजेट विनियोजन गरेर खेलमैदान सम्याउने काम भइरहेको थियो। मङ्गलाघाटका दीपबहादुर शेरचन र निगम राजभण्डारीले मूल सडकदेखि मैदान जाने जग्गा उपलब्ध गराएका थिए।

जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँका अनुसार मङ्गलाघाटको खेलमैदान विशेष गरेर भलिबल अभ्यासका लागि प्रयोग गर्न थालिएको छ। “खुलामञ्च खेलमैदानमा फुटबल र क्रिकेटसँगै विभिन्न सभा, समारोह र महोत्सव हुने हुँदा खेलकुदका लागि वैकल्पिक स्थान आवश्यक थियो। बेनीमा भलिबलको छुट्टै मैदान नहुँदासम्म मङ्गलाघाटको खेलमैदान अस्थायी रूपमा प्रयोगमा ल्याइएको हो,” उनले बताउनुभयो।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
