नरैनापुर पालिकाको घरदैलो स्वास्थ्य कार्यक्रम प्रभावकारी
नेपालगन्ज, २ पुस
बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउन र नसर्ने रोगको जोखिम कम गर्ने उद्देश्यले सञ्चालन गरेको घरदैलो स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

गाउँपालिकाले सुरु गरेको यस कार्यक्रममार्फत पालिकाभित्रका नागरिकको घर–आँगनमै पुगेर स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा प्रदान गरिँदै आएको गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले जानकारी दिनु भयो। उहाँका अनुसार समयमै स्वास्थ्यसम्बन्धी जानकारी र सेवा नपाउँदा हुने जोखिमलाई कम गर्न कार्यक्रम अघि बढाइएको हो।
“रोग लागेपछि मात्र उपचार खोज्ने प्रवृत्तिभन्दा अघि बढेर रोग नलाग्ने उपाय अपनाउने र प्रारम्भिक अवस्थामै पहिचान गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो,” अध्यक्ष शाहले भन्नु भयो।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार कार्यक्रम अन्तर्गत पालिकाका सबै ६ वटै वडामा अनमी, स्टाफ नर्स र अहेवसहित १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। स्वास्थ्यकर्मीहरूले मुटुरोग, मानसिक स्वास्थ्य समस्या, पाठेघर तथा स्तन क्यान्सर, गर्भवती र सुत्केरी महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित गर्दै नियमित स्वास्थ्य परीक्षण र परामर्श सेवा दिइरहेका छन्। स्वास्थ्य शाखाका संयोजक नगेन्द्रकुमार शाहले प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गरी तथ्याङ्कमा आधारित सेवा प्रवाह गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनु भयो।

जनस्वास्थ्य अधिकृत करम चौधरीले कार्यक्रम दीर्घकालीन प्रभाव पार्ने खालको भएको उल्लेख गर्दै सबै वडामा स्वास्थ्यकर्मी परिचालन भइसकेको र तथ्याङ्क सङ्कलनसँगै जनचेतना अभिवृद्धिको काम तीव्र गतिमा अघि बढिरहेको जानकारी दिनु भयो। कटकुइया स्वास्थ्य चौकीकी अनमी सामना क्षेत्री गुरुङले नरैनापुर–१ क्षेत्र स्वास्थ्यको दृष्टिले चुनौतीपूर्ण रहेको बताउँदै धेरै महिलाले गर्भावस्थामा आवश्यक स्वास्थ्य जाँच नगर्दा जोखिम बढ्ने गरेको अनुभव सुनाउनु भयो। उहाँका अनुसार घरदैलो स्वास्थ्य सेवा सुरु भएपछि गर्भवती र सुत्केरी महिलाले समयमै स्वास्थ्य सेवा लिन थालेका छन्।
स्थानीयवासीहरूले पनि स्वास्थ्यकर्मीको निरन्तर उपस्थितिले आफूहरू सुरक्षित महसुस गर्न थालेको बताएका छन्। नरैनापुर–२ का रमेश मौर्यले घरमै पुगेर गरिने स्वास्थ्य परीक्षण र परामर्शले धेरै नागरिकलाई लाभ पुगेको बताउनु भयो। गाउँपालिकाले आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक बनाउँदै दीर्घकालीन स्वास्थ्य सुधारको आधार तयार गर्ने तयारी गरेको अध्यक्ष शाहले बताउनु भयो।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
