सिमकोट गाउँपालिकामा अव्यवस्थित पाइपलाइनले खानेपानी संकट - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

सिमकोट गाउँपालिकामा अव्यवस्थित पाइपलाइनले खानेपानी संकट

हुम्ला, पुस ४ 


  जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका–५ र ६ को बजार क्षेत्रमा खानेपानीको पाइपलाइन अव्यवस्थित हुँदा स्थानीयवासीले गम्भीर समस्या भोगिरहेका छन्। सडक र ढल व्यवस्थापनलाई बेवास्ता गर्दै जथाभावी रूपमा पाइप बिछ्याइएकाले यो समस्या वर्षैभरि झन् जटिल बन्दै गएको छ।

3-1766138233.jpg
   मुख्य सडक क्षेत्रमा खानेपानीको पाइपलाइन वैज्ञानिक र व्यवस्थित तरिकाले नबनाइ वितरण गरिएको कारण पानी आपूर्तिमा समस्या देखिएको सिमकोट गाउँपालिका–६ का स्थानीय राजन रावतले बताउनुभयो। एउटै पाइपलाइनबाट पानी वितरण गरिए पनि केही लाइनमा पानी पुग्ने र केहीमा नपुग्ने समस्या बढ्दै गएको उहाँको भनाइ छ। पुराना पाइपलाइनबाट जहाँसुकै जडान थप्दै लैजाने प्रवृत्तिले समस्या थपिएको उहाँले उल्लेख गर्नुभयो।

pakrau-22025-11-06-04-03-38-1766138248.jpeg
  पाइपलाइन खनेर भूमिगत रूपमा व्यवस्थापन गर्नुको सट्टा सडक र ढलमाथि नै बिछ्याइएकाले पाइप फुट्दा ढलको फोहोर पानी खानेपानीको लाइनमा मिसिने गरेको स्थानीय छिटुपा लामाले बताउनुभयो। यस कारण कतिपय उपभोक्ता फोहोर पानी प्रयोग गर्न बाध्य छन्। एउटै धारामा पानी आउने तर छेउकै लाइनमा पानी नआउने अवस्था सामान्यजस्तै बनेको उहाँले बताउनुभयो।

2-1766138227.jpg
   कतिपय उपभोक्ताको धारामा एक वर्षदेखि पानी आउन छोडेको छ। खानेपानी उपभोक्ता समितिले पाइपलाइन वितरणलाई व्यवस्थित नगरेकै कारण समस्या उत्पन्न भएको स्थानीयको गुनासो छ। एकातिर अधिकांश धारामा पानी नआउने समस्या छ भने अर्कोतिर सडक र ढलमा बिछ्याइएका पाइपका कारण बजार क्षेत्रका धेरै उपभोक्ताले दूषित पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।

1-1766138228.JPG
  खानेपानी समस्या समाधानको माग गर्दै वडा, गाउँपालिका र स्थानीय प्रशासनमा पटक–पटक धाउँदा पनि कतैबाट ठोस पहल नभएको स्थानीयले बताएका छन्। केही उपभोक्ता भने व्यक्तिगत लाइन भएका छिमेकीबाट पानी ल्याएर दैनिकी चलाइरहेका छन्।

5-1766138281.jpg
   सिमकोट बजारमा खानेपानी आपूर्ति गर्दै आएको खानेपानी उपभोक्ता समिति प्रत्येक तीन वर्षमा साधारण सभा गरी पुनःगठन हुनुपर्नेमा १५ वर्षदेखि एउटै समितिले निरन्तरता पाएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनुभयो। समितिको समयमै पुनःगठन नहुँदा व्यवस्थापन कमजोर बनेको उहाँको भनाइ छ। अब समिति पुनःगठन गरी नयाँ संरचनाबाट खानेपानी समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको उहाँले जोड दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार