मङ्गला गाउँपालिकामा चाङ्गाधुरी पर्यटनको नयाँ गन्तव्य बन्दै
म्याग्दी , पुस ४
प्राकृतिक सौन्दर्य, हिमालको मनोरम दृश्य र ग्रामीण जीवनशैलीको संगमका रूपमा मङ्गला गाउँपालिका–५ अर्मनस्थित चाङ्गाधुरी पर्यटकीय गन्तव्यका रूपमा क्रमशः चिनिन थालेको छ। समुद्री सतहबाट करिब २ हजार २०० मिटर उचाइमा रहेको चाङ्गामा सडक पहुँच विस्तार, शुद्ध खानेपानी, केन्द्रीय विद्युतीकरण तथा पछिल्लो समय बढेको प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्न थालेको हो। चाङ्गाखर्कबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गतका करिब एक दर्जन हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
पहिलो पटक चाङ्गा पुगेका बेनी निवासी विनोद धौलागिरिले यहाँको प्राकृतिक सौन्दर्य र सरल ग्रामीण जीवनशैलीले आफूलाई आकर्षित गरेको बताउनुभयो। स्थानीय कृषि प्रणाली र पशुपालनलाई पर्यटनसँग जोड्न सके स्थानीयको आयआर्जन बढ्ने र जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको धारणा छ। उहाँका अनुसार चाङ्गा प्रकृति, संस्कृति र जीवनशैलीको अनुपम संगम हो।
चाङ्गाबाट चुरेन, सीता, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र धम्पुस पिक हिमालका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। समूहमा पुग्ने पर्यटकलाई स्थानीयले मौलिक भजन–किर्तन र नाचगानमार्फत सांस्कृतिक अनुभव गराउने व्यवस्था पनि मिलाइएको छ। पर्यटन सम्भावना हुँदाहुँदै पनि लामो समयसम्म ओझेलमा परेको चाङ्गालाई प्रवर्द्धन गर्न गाउँपालिका र वडाले पूर्वाधार निर्माण तथा प्रचारप्रसारको काम अघि बढाएको मङ्गला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार चाङ्गा खर्क नजिकैको चुलीको धुरीमा पार्क निर्माण गर्ने तयारी भइरहेको छ भने गुराँसे जङ्गल क्षेत्रको संरक्षण गर्दै लालीगुराँसलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने योजना बनाइएको छ।

“पर्यटक र स्थानीयको सुविधाका लागि खानेपानी र केन्द्रीय विद्युतीकरण विस्तार गरिएको छ। चाङ्गा खर्कको पाखोबारीमा चिया बगान विकास गर्ने तयारीमा छौँ। घरबास कार्यक्रम सञ्चालन गरेर पर्यटकको बसाइलाई सहज बनाउने लक्ष्य लिएका छौँ,” वडाध्यक्ष खत्रीले बताउनुभयो। हिउँदयाममा वनभोज तथा घुमघामका लागि सवारीसाधनमार्फत आन्तरिक पर्यटक चाङ्गा पुग्ने गरेका छन्। पछिल्लो समय विभिन्न सङ्घसंस्थाले साधारणसभा र बैठकसमेत यस क्षेत्रमै आयोजना गर्न थालेका छन्।

गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पीपलबोट, पाखु, धारा, सिर्कुम र टीकाबाङ हुँदै करिब एक घण्टा ३० मिनेटमा चाङ्गा पुग्न सकिन्छ। बाबियाचौरबाट छिसबाङ, टीकाबाङ र सिर्कुम हुँदै पुग्ने वैकल्पिक मार्ग पनि उपलब्ध छ। साथै चाङ्गाबाट मङ्गला र बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय स्थल तिनचुले जाने पदमार्गसमेत जोडिएको छ। मङ्गला गाउँपालिकाले पालिकाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवर्द्धनलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाले बताउनुभयो। चाङ्गाबाट देखिने प्राकृतिक दृश्यले आन्तरिकसँगै बाह्य पर्यटक आकर्षित गर्न सक्ने सम्भावना रहेकाले पर्यटन विकासमा विशेष ध्यान दिइएको उहाँको भनाइ छ।

चाङ्गामा हाल १७ घरधुरीको बसोबास छ। यहाँ कोदो, मकै, फापर, तोरीजस्ता अन्नबालीसँगै आलु, मुला, सिमी, भटमास र सागसब्जी उत्पादन हुँदै आएको छ। गाईभैँसी तथा भेडाबाख्रा पालनसमेत परम्परागत पेशाका रूपमा रहेको छ। यहाँ पुग्ने पर्यटकले ग्रामीण जीवनशैलीको अवलोकनसँगै स्थानीय उत्पादनको स्वाद लिन सक्ने सुविधा पाउँछन्। प्राकृतिक सौन्दर्य, जैविक विविधता र शान्त वातावरणका कारण चाङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने पर्याप्त सम्भावना रहेको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताउनुभयो। उहाँले चाङ्गालाई केन्द्र बनाएर चिनाकोटधुरी, झाँक्रीपानी, तिनचुले हुँदै मालिका गाउँपालिकाको निस्कोट बराहताल र रुम दुरलेकसम्म जोड्ने ट्रेकिङ मार्ग विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
मनोरम हिमाल, ग्रामीण भू–बनोट, जडीबुटी, वन्यजन्तु तथा पक्षी अवलोकनको अवसर चाङ्गाको थप विशेषता हो। कच्ची सडक स्तरोन्नति, पदमार्ग विस्तार, क्याम्पिङ स्थल निर्माण तथा घरबास कार्यक्रम सञ्चालन गर्न सकेमा यस क्षेत्रमा पर्यटक आगमन अझै बढ्ने अपेक्षा गरिएको छ।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल
