अजिरकोट गाउँपालिकामा घरबास पर्यटन तथा लज व्यवस्थापन तालिम
सुलीकोट, पुस ४
गोरखाको अजिरकोट गाउँपालिका–१ स्थित क्हेचो गाउँमा अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्थापनसम्बन्धी तालिम सुरु भएसँगै ग्रामीण पर्यटन विकासको सम्भावना थप बलियो बनेको छ। स्थानीय स्रोत, सीप र सम्भावनालाई पर्यटनसँग जोडेर दिगो आम्दानी सृजना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार पुस १ देखि ५ गतेसम्म सञ्चालन हुने तालिमले अजिरकोट क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ गति दिने अपेक्षा गरिएको छ। नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गतको दिगो पर्यटन परियोजना (एसटिपी) तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सहकार्यमा तालिम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो।

तालिममा अतिथि सत्कारका आधारभूतदेखि व्यावसायिक सीप, घरबास सञ्चालनका मापदण्ड, स्वच्छता तथा सेवा व्यवस्थापन, खानपानको गुणस्तर, पर्यटकसँगको व्यवहार र लज व्यवस्थापनका व्यावहारिक पक्ष समेटिएका छन्। तालिममार्फत स्थानीय समुदायलाई पर्यटनमैत्री सेवा प्रदान गर्न सक्षम बनाउने लक्ष्य लिइएको छ। क्हेचो गाउँ कृषि र पशुपालनमा आधारित परम्परागत जीवनशैली, मौलिक संस्कृति र आकर्षक प्राकृतिक दृश्यले भरिपूर्ण रहेको छ। स्थानीय खानपान, संस्कार–संस्कृति र शान्त ग्रामीण वातावरणका कारण यहाँ ग्रामीण पर्यटनको ठूलो सम्भावना रहेको छ।
अजिरकोट गाउँपालिकाका पाँच वटै वडाबाट प्रतिनिधि सहभागी रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो। तालिमपछि सहभागीहरूले आफ्नै गाउँमा घरबास सञ्चालन, लज तथा साना पर्यटन व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्।
गाउँपालिकाले युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने, वैदेशिक पलायन घटाउने र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यसहित यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ। पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको अजिरकोटमा जन्मदिन तथा विभिन्न उत्सव मनाउन गोरखा सदरमुकाम, चितवन र धादिङलगायत क्षेत्रबाट आन्तरिक पर्यटक पुग्ने गरेका छन्।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
