धनकुटाका पालिकामा निर्वाचन तयारी तीव्र, दलगत गतिविधि भने सुस्त
धनकुटा, ७ पुस
आगामी फागुन २१ का लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारी प्रशासनिक र सुरक्षा निकायले तीव्र बनाएका छन्। जिल्लास्थित निर्वाचन कार्यालय र सुरक्षा निकायले मतदानस्थल, केन्द्र र सुरक्षा योजना सम्बन्धी तयारीलाई प्राथमिकतामा राख्दै अघि बढाइरहेका छन्।

धनकुटाका चार नगरपालिका र तीन गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा जिल्ला सुरक्षा समितिले गाउँ–गाउँ पुगेर मतदानस्थलको स्थलगत अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा सुरक्षा व्यवस्थाको प्रभावकारिता मूल्याङ्कन, प्रशासनिक कमजोरी सुधार, मतपेटिका र मतदान सामग्री ढुवानीको योजना बनाइएको छ। यसैगरी स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरी निर्वाचनप्रति जनविश्वास अभिवृद्धि गर्ने प्रयास भइरहेको छ।
अनुगमन टोलीमा प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्री, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देल, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र सहभागी छन्। टोलीले दुर्गम बस्तीमा पुगेर सुरक्षा चुनौती र जोखिम मूल्याङ्कन गर्दै रणनीतिक योजना तयार गरिरहेको छ। यसअघिका निर्वाचनमा ११९ मतदानस्थलमध्ये ५४ सामान्य, ४९ संवेदनशील र १६ अति संवेदनशील रहेको सूचीअनुसार यसपटक पनि स्थलगत अनुगमनपछि सुरक्षा स्तर निर्धारण गरिनेछ। जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीका अनुसार मतदाता नामावली अद्यावधिक, दाबी–विरोध, त्रुटि सच्याउने, मृतक मतदाताको नाम हटाउने र अन्तिम नामावली प्रकाशनको काम अघि बढिरहेको छ। एउटै वडाभित्र मतदान केन्द्र परिवर्तन गर्न सकिने व्यवस्था पनि मिलाइएको छ।

यद्यपि प्रशासनिक तयारी तीव्र भए पनि राजनीतिक दलका गतिविधि अपेक्षाकृत सुस्त देखिएका छन्। गाउँबस्तीमा दलगत भेला, उम्मेदवारको चर्चा–परिचर्चा नहुँदा निर्वाचनको माहोल कमजोर भएको स्थानीयले बताउँछन्। नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईले पार्टी आन्तरिक तयारी पूरा भएको दाबी गर्नुहुन्छ भने नेकपा एमालेका अध्यक्ष शिव आङ्ला लिम्बूले वर्तमान सरकारले तोकिएको मितिमा निर्वाचन गर्न नसक्ने धारणा राखेका छन्। उहाँको अनुसार संसद् पुनर्स्थापना भएपछि मात्रै निर्वाचन सम्भव छ।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
