नेपालगन्ज उपमहानगरपालिकाको पहलमा सडक विस्तार अन्तिम चरणतर्फ - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

नेपालगन्ज उपमहानगरपालिकाको पहलमा सडक विस्तार अन्तिम चरणतर्फ

बाँके, ७ पुस


   नेपालगन्ज–गुलरिया सडकखण्डको विस्तार कार्य अन्तिम चरणतर्फ बढिरहेको छ, तर धम्बोझीस्थित खजुरारोड खण्डमा अझै समस्या देखिएको छ। नेपालगन्ज उपमहानगरपालिकाले यस खण्ड विस्तारका लागि पहल अघि बढाएको छ। वडा १ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार उपमहानगरपालिकाले हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जसँग समन्वय गर्दै सडक विस्तारलाई सहज बनाउन पहल गरेको छ। रिजालले बताएअनुसार “धम्बोझी तर्फको सडक विस्तारका लागि हुलाकी राजमार्गले केही संरचना भत्काउनु पर्ने भएकाले हामी आवश्यक सहजीकरण गर्न तयार छौँ।”

2-1766402871.jpg
   सडक विस्तारका विषयमा उपमहानगरपालिका र हुलाकी राजमार्ग निर्देशनालयबीच तत्कालै समन्वय बैठक बस्ने तयारी छ। नगर प्रमुख प्रशान्त विष्टले पनि प्रारम्भिक छलफल भइसकेको र बाँकी सडकखण्ड विस्तारका लागि सबै सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो।

3-1766402881.jpg
  नेपालगन्ज–गुलरिया सडकको धम्बोझीदेखि बर्दियाको गुलरियासम्म ३२ किलोमिटर लम्बाईको मार्ग निर्माण भइरहेको छ। घना बस्ती भएका कारण धम्बोझीभन्दा करिब २ किलोमिटर पश्चिम नन्दनी मिलबाट सडक निर्माण सुरु गरिएको थियो। हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख डिभिजनल इन्जिनियर लीलाबहादुर भण्डारीका अनुसार नन्दनी मिलदेखि गुलरियासम्मको सडक अन्तिम चरणमा पुगेको छ। स्थानीय बासिन्दासँग सहमति भएसँगै बाँकी निर्माण कार्य पनि तुरुन्त अघि बढ्नेछ।

4-1766403036.jpg

    धम्बोझीदेखि नन्दनी मिलसम्म दर्जनौं घर र अन्य संरचना सडक क्षेत्रमा पर्ने हुँदा निर्माणमा कठिनाइ भएको छ। ३२ किलोमिटर लम्बाईको यो सडक करिब तीन अर्ब रुपैयाँ लागतमा शर्मा एन्ड शर्मा कम्पनीले निर्माण गर्दैछ। घना बस्ती क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेनको सडक बनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार