पोखरा महानगरपालिकाको कालाबाङ घडेरी होमस्टेमा बढ्दै पर्यटकको चहलपहल
पोखरा, ८ पुस
नेपालको पर्यटकीय राजधानी पोखरा शहरबाट करिब १२ किलोमिटर दूरीमा अवस्थित कालाबाङ सामुदायिक घडेरी होमस्टे आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। पोखरा महानगरपालिका–२२ मा पर्ने यस बस्तीमा हाल १५६ घरधुरी रहेका छन्, जसमध्ये १८ घरमा होमस्टे सञ्चालन भइरहेको छ।

सञ्चालनमा रहेका होमस्टेमध्ये १२ घर गुरुङ समुदायका, पाँच घर ब्राह्मण समुदायका र एक घर दलित समुदायको रहेको छ। गुरुङ समुदायको बाहुल्य रहे पनि यहाँ गुरुङ, ब्राह्मण र दलित समुदाय मिलेर समावेशी ढंगले होमस्टे सञ्चालन गर्दै आएका छन्। २०७३ सालदेखि सुरु भएको घडेरी होमस्टेमा एकै रातमा ६० देखि ७० जनासम्म पाहुना बस्न सक्ने क्षमता रहेको छ।

स्थानीयस्तरमै उत्पादन हुने अर्गानिक तरकारी, लोकल कुखुरा, खसीको मासु, चामल, गेडागुडी, सागसब्जी र गुन्द्रकका परिकारले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। विशेषगरी बाह्य पर्यटकको संख्या आन्तरिक पर्यटकको तुलनामा बढी रहेको सञ्चालकहरू बताउँछन्। यहाँका महिला दाजुभाइको आत्मीय व्यवहार र पाहुनालाई स्वागत गर्ने शैली नै कालाबाङ होमस्टेको विशेषता बनेको छ।

नेपाल होमस्टे महासङ्घका उपाध्यक्ष तथा होमस्टे सञ्चालक प्रकाशचन्द्र गुरुङका अनुसार कालाबाङ बस्ती करिब २५० वर्ष पुरानो हो। पहिले कालो र घना वन भएकाले ‘कालावन’ भनिने यो स्थान समयक्रममा अपभ्रंश हुँदै ‘कालाबाङ’ नामले चिनिन थालेको हो। विगतमा २८१ घरधुरी रहेको यस बस्तीमा शहर नजिक भएकै कारण शिक्षा र वैदेशिक रोजगारीका कारण बसाइँसराइ बढ्दा अहिले १५६ घरधुरी मात्र रहेका छन्। गुरुङका अनुसार कालाबाङ घडेरी होमस्टे नेपालकै समावेशी होमस्टेमध्ये एक हो। “अन्य ठाउँमा एउटै समुदायको मात्र होमस्टे पाइन्छ, तर यहाँ गुरुङ, ब्राह्मण र दलित समुदायले संयुक्त रूपमा होमस्टे सञ्चालन गरेका छन्,” उहाँले भन्नुभयो।
होमस्टेमा बस्ने पर्यटकका लागि हरेक साँझ स्थानीय सांस्कृतिक प्रस्तुति आयोजना गरिन्छ। विषादीरहित अर्गानिक खानाले पनि पर्यटकलाई आकर्षित गरिरहेको गुरुङको भनाइ छ। अर्का होमस्टे सञ्चालक दुर्गाबहादुर गुरुङका अनुसार कालाबाङ होमस्टे खर्चका हिसाबले पनि सस्तो छ। प्रतिव्यक्ति खानासहित प्रतिदिन १,१५० देखि १,२०० रुपैयाँसम्मको प्याकेज रहेको छ। यहाँबाट देखिने सेताम्मे हिमाल, पहाड र घना वनजंगलले पाहुनाको मन लोभ्याउने गरेको उहाँले बताउनुभयो।

पोखरा शहर नजिकै रहेर पनि गाउँले जीवनशैलीको अनुभव लिन सकिने कालाबाङमा दुर्गाबहादुर गुरुङले ‘आफन्त फार्म स्टे’ नामक छुट्टै घरबास पनि सञ्चालन गर्नुभएको छ, जहाँ एकै रातमा ३५ जनासम्म बस्न सक्ने अट्याच कोठाको व्यवस्था रहेको छ। असोजदेखि नयाँ वर्षसम्म होमस्टेमा पर्यटकको चहलपहल बढी रहने गर्छ। समुद्री सतहबाट करिब १,४०० मिटर उचाइमा रहेको कालाबाङमा न अत्यधिक जाडो हुन्छ, न त चर्को गर्मी नै। बुद्धपार्क, पुम्दीकोट जस्ता पर्यटकीय स्थलको नजिकै रहेकाले पनि यहाँ आउने पर्यटकको संख्या बढ्दो छ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभयो। स्थानीय संस्कृति, भेषभूषा र आदिवासी समुदायका संस्कारजन्य गतिविधिले पर्यटकलाई आकर्षित गर्ने उहाँको भनाइ छ। वडा नं. २२ का अध्यक्ष हिमलाल बरालले पोखरा ताल, मन्दिर र धार्मिक स्थलको शहर भएकाले धार्मिक पर्यटकको संख्या बढ्दो क्रममा रहेको बताउनुभयो। केही स्थानमा सडक पक्कीकरणको काम बाँकी रहे पनि छिट्टै सम्पन्न गरिने विश्वास उहाँले व्यक्त गर्नुभयो।
पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीका अनुसार पोखराको हावापानी, अतिथि सत्कार र सांस्कृतिक विविधताले पर्यटकलाई तानिरहेको छ। पोखरा भ्रमण वर्ष २०२५ को लक्ष्यअनुसार करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्य लगभग पूरा भएको उहाँले जानकारी दिनुभयो।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
