भद्रकाली मन्दिर पुनर्निर्माण सन्तोषजनक : काठमाडौँ महानगरपालिका
काठमाडौँ, पुस ९
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको बताउनुभएको छ।

मङ्गलबार मन्दिर परिसरमा भइरहेको पुनर्निर्माण कार्यको स्थलगत अनुगमन गर्दै उपप्रमुख डंगोलले निर्माणको गुणस्तरमा विशेष ध्यान दिन सम्पदा तथा पर्यटन विभागलाई र तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिनु भयो। सत्तलमा काठसम्बन्धी काम गर्दा परम्परागत नेवारी काठकला र रैथाने सिप भएका व्यक्तिको सुझाव तथा सहकार्य लिनुपर्ने उहाँको भनाइ थियो। साथै, कम्पाउण्ड वाल निर्माण गर्दा सुरक्षा, सौन्दर्य, मौलिकता र प्रयोगमा सहजतालाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।

अनुगमनका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राई तथा वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालले पुनर्निर्माणको अवस्था, प्रयोग भइरहेका निर्माण सामग्री र संरचनागत ढाँचाबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईँ, गुठी संस्थानका सदस्य सचिव शैलेशराज कुँवर, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर तथा गुठी र समुदायसँग सम्बन्धित पदाधिकारीहरूको उपस्थिति थियो।

महानगरपालिकाको योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेका योजनाहरूको नियमित अनुगमन गरिरहेको एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीले जानकारी दिनुभयो। भद्रकाली मन्दिर भौगोलिक रूपमा वडा नं. ११ मा अवस्थित भए पनि यससँग सम्बन्धित जात्रा, संस्कार, संस्कृति र परम्परा वडा नं. २२ लगायत भित्री वडासँग जोडिएको छ। सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईका अनुसार मन्दिर परिसरमा विभिन्न समुदायका कुलदेवता स्थल रहेकाले यसको ऐतिहासिक र सांस्कृतिक गरिमा जोगाउँदै पुनर्निर्माण कार्य भइरहेको छ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेको मन्दिर परिसरका सत्तल पुनर्निर्माणका लागि निर्माण पक्षसँग २०८१ जेठ ६ गते सम्झौता भई असार ४ गते कार्यादेश दिइएको थियो। सोही महिनाको २७ गते जग पूजा सम्पन्न भएपछि मन्दिर परिसरको दक्षिण–पश्चिम भागबाट पुनर्निर्माण कार्य सुरु गरिएको हो।

पुनर्निर्माणअघि मन्दिरको पश्चिम, उत्तर र दक्षिणतर्फ पाटी–सत्तललगायत संरचना रहेका थिए। सुरुमा ३६ करोड रुपैयाँ लागत अनुमान गरिएको योजनामा खुला प्रतिस्पर्धामार्फत ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कबोल गर्ने तुल्सी अम्बुजा जेभीले जिम्मा पाएको हो। संरचना र डिजाइनमा केही परिवर्तन भएपछि भेरिएसन गरिएको र संशोधित डिजाइनअनुसार करबाहेक लागत अनुमान ३७ करोड ३० लाख ८७ हजार रुपैयाँ पुगेको वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालले जानकारी दिनुभयो। सम्झौता रकम ३६ करोड ८० लाख ४ हजार रुपैयाँ रहेको छ भने निर्माण अवधि २०८४ असार ३ गतेसम्म तोकिएको छ।

सत्तलसहितका संरचना परम्परागत नेवारी शैलीमा निर्माण भइरहेका छन्। कुँदिएका बुट्टेदार ढोका, झ्याल र थाम प्रयोग गरिनुका साथै छानो झिँगटीले छाइनेछ। उत्तरतर्फ (भृकुटीमण्डपतर्फ) दुईवटा ब्लक र दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) तीनवटा ब्लक आपसमा जोडिने गरी निर्माण भइरहेको छ। इञ्जिनियर अनुपराज ढुङ्गानाका अनुसार भद्रकाली परिसरको कुल क्षेत्रफल ४ हजार ५४४ वर्गमिटर रहेको छ, जसअन्तर्गत उत्तरतर्फको सत्तल ५८८.९२ वर्गमिटर र दक्षिणतर्फको सत्तल ३१६.४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।

भद्रकाली मन्दिर पुनर्निर्माणलाई सहजीकरण गर्न सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ। समितिमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधि भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, पूर्व अध्यक्ष गौतम डंगोल तथा पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि सदस्य रहेका छन्। समितिको सदस्य सचिवको जिम्मेवारी सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईले सम्हालिरहनुभएको छ।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल
