बेंसीसहर नगरपालिका–२ मा हत्या अभियुक्त पक्राउ, पालिकासहित प्रहरीलाई धन्यवाद - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

बेंसीसहर नगरपालिका–२ मा हत्या अभियुक्त पक्राउ, पालिकासहित प्रहरीलाई धन्यवाद

लमजुङ, पुस १०

   बेंसीसहर नगरपालिका–२, भकुण्डेमा सात महिनाअघि भएको एक महिलाको हत्या प्रकरणमा संलग्न अभियुक्त पक्राउ गर्न सफल भएको भन्दै पीडित परिवार र स्थानीयवासीले लमजुङ प्रहरी अनुसन्धान टोलीलाई औपचारिक कार्यक्रम गरी धन्यवाद व्यक्त गरेका छन्। पूर्वप्रहरी हबल्दार ४६ वर्षीया सीता कँडेलको हत्या अभियोगमा चितवन रत्ननगर नगरपालिका–७ निवासी ४७ वर्षीय बुद्धिराम दराई पक्राउ परेपछि बिहीबार पीडित परिवार, स्थानीय तथा जनप्रतिनिधिको उपस्थितिमा सम्मान कार्यक्रम आयोजना गरिएको हो।

2-1766660754.jpg
     जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार अभियुक्त दराईलाई भारतबाट नेपाल फर्किने क्रममा गत मंसिर १८ गते रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाबाट पक्राउ गरिएको थियो। उनी घटनापछि भारत फरार भई नयाँ दिल्लीमा सुरक्षा गार्डका रूपमा लुकिछिपी बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। एक्लै बस्दै आएकी कँडेलको शव गत चैत ३१ गते आफ्नै घरको लो–बेडभित्र त्रिपाल र प्लाइले छोपिएको अवस्थामा फेला परेको थियो। घटनास्थलको सूक्ष्म अध्ययन, प्रमाण संकलन र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

3-1766660842.jpg
    सम्मान कार्यक्रममा मृतककी आमा पार्वती धिताल खत्री, दाइ भगवान भन्ने शुक्र धिताल, जाहेरवाला परशुराम धिताल, अन्य आफन्त, वडाध्यक्ष मदनबहादुर राना, स्थानीयवासी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसीको उपस्थिति रहेको थियो। उनीहरूले अनुसन्धानमा संलग्न डीएसपी रेशम बोहरा र प्रहरी निरीक्षक अभिषेक पाण्डेसहितको टोलीलाई फूलमाला र खादा लगाएर सम्मान गरेका थिए।

1-1766660755.JPG
    वडाध्यक्ष रानाले लामो समयपछि भए पनि अभियुक्त पक्राउ पर्नु न्यायको पक्षमा सकारात्मक सन्देश भएको बताए। “अपराधी जहाँ लुके पनि कानुनको दायरामा ल्याइन्छ भन्ने विश्वास बलियो बनेको छ,” उनले भने। डीएसपी बोहराले समुदायको सहयोग, धैर्य र प्रहरीप्रतिको विश्वासकै कारण जटिल अनुसन्धान सफल भएको बताए। प्रहरीका अनुसार दराईले चैत २७ गते कँडेलको हत्या गरी भारततर्फ फरार भएका थिए। उनीविरुद्ध लमजुङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

1-1766739146.JPG
    दराई यसअघि पनि २०६७ मंसिर १२ गते गोरखाको साविक फिनाम गाविस–५ की ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका व्यक्ति हुन्। सर्वोच्च अदालतले २०७१ चैत १३ गते सजाय घटाएर १२ वर्ष कैद तोकेपछि उनी २०७६ असोज ३ गते धादिङ कारागारबाट रिहा भएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार चितवन कारागारमा रहँदा कँडेल र दराईबीच चिनजान भएको र जेलबाट छुटेपछि पनि उनीहरूबीच सम्पर्क कायम रहेको खुलेको छ। पछिल्लो समय आपसी विवाद चर्किएपछि अभियुक्तले पूर्वनियोजित रूपमा हत्या योजना बनाएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार