बागलुङ नगरपालिकाको लगानी, मालिका स्वास्थ्यचौकी बनेको नमूना संस्था
बागलुङ, पुस १०
बागलुङ नगरपालिकाले स्वास्थ्यकर्मी, औषधि तथा उपचार सामग्रीको पर्याप्त व्यवस्थापन गरेपछि वडा नं. ५ स्थित मालिका स्वास्थ्यचौकी सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्दै नमूना स्वास्थ्य संस्थाका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी परिवार नियोजन, सुरक्षित गर्भपतन तथा पाठेघरसम्बन्धी उपचार सेवामा स्वास्थ्यचौकीले राम्रो प्रगति गरेको छ।

केही वर्षअघिसम्म सामान्य उपचारका लागि पनि नगरवासी धौलागिरि प्रादेशिक अस्पताल धाउनुपर्ने अवस्था थियो। तर जनशक्ति र उपकरणको व्यवस्थापनसँगै नगरभित्रका स्वास्थ्य संस्थाहरू क्रमशः सुदृढ बन्दै गएका छन्। बर्थिङ सेन्टर र प्रसूती सेवा उपलब्ध नभए पनि न्यूनतम सेवा मापदण्ड (एमएसएस) का अधिकांश सूचक पूरा गर्दै मालिका स्वास्थ्यचौकीले सेवा दायरा विस्तार गरेको छ। पहिले सीमित सेवामा मात्र सञ्चालन हुँदै आएको मालिका स्वास्थ्यचौकीलाई नगरपालिकाले आवश्यक सामग्री, दक्ष स्वास्थ्यकर्मी र नियमित रिपोर्टिङ प्रणालीको व्यवस्था गरी सशक्त बनाएको हो। प्रत्येक स्वास्थ्य संस्थालाई फरक–फरक सेवामा विशेष बनाउने नगरपालिकाको रणनीतिअनुसार मालिका स्वास्थ्यचौकीलाई महिलाको स्वास्थ्य सेवामा केन्द्रित गरिएको छ।

स्वास्थ्यचौकी प्रमुख बिलासचन्द्र पौडेलका अनुसार पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर परीक्षण तथा परिवार नियोजनका अस्थायी साधन सेवा व्यवस्थित गरिएको छ। दक्ष जनशक्तिको व्यवस्थापनसँगै सुरक्षित गर्भपतन सेवा पनि प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो। “संस्थालाई नगरपालिका र प्रदेश स्वास्थ्य निकायको दृष्टिमा नमूना बनाउने लक्ष्यमा छौँ,” पौडेलले भन्नुभयो। गत वर्ष स्वास्थ्यचौकीबाट ८० जनाले लामो समयसम्म प्रयोग गर्न मिल्ने परिवार नियोजनका अस्थायी साधन प्रयोग गरेका छन्। चालु आर्थिक वर्षमा आठ जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्यचौकीले जनाएको छ। यसले निजी क्लिनिकमा हुने असुरक्षित गर्भपतनको जोखिम घटाउन सहयोग पुगेको पौडेलको भनाइ छ।
स्वास्थ्यचौकीको सुधारमा फेयरमेड फाउन्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन र सम्बोधन परियोजनाको सहयोग रहेको छ। गत वर्ष भवन मर्मत गरिएको स्वास्थ्यचौकीलाई चालु वर्ष पेडी लाइटसहित आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ। घाउचोट उपचार, पाठेघरको क्यान्सर परीक्षण तथा परिवार नियोजन सेवामा नमूना बन्ने लक्ष्य लिइएको छ।
गर्भवती महिलाको पोषण लेखाजोखा गरी प्याकेजमा पोषण सामग्री वितरण गर्ने प्रणालीलाई पनि व्यवस्थित बनाइएको छ। यस अभियानमा उल्लेखनीय योगदान पुर्याएको भन्दै वडा र स्वास्थ्य व्यवस्थापन समितिमार्फत गत महिना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
