फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मोटर गुड्ने काठे पुल निर्माण
ताप्लेजुङ, पुस १०
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले यातायात सुविधा सहज बनाउन तमोर नदीमा मोटर गुड्न मिल्ने काठको अस्थायी पुल निर्माण गरेको छ। पक्की मोटरेवल पुलको अभावका कारण हिउँद याममा सवारी आवागमन सुनिश्चित गर्न काठे पुल निर्माण गरिएको हो।
गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नं. ५ तापेथोक र वडा नं. ६ लेलेपलाई जोड्ने गरी तापेथोक बगरस्थित तमोर नदीमा अस्थायी मोटरेवल काठे पुल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। हिउँदमा नदीको बहाव कम हुने समयलाई उपयोग गर्दै गाउँ–गाउँसम्म यातायात पहुँच पुर्याउने उद्देश्यले पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो।

सडक सञ्जाल विस्तार भइसके पनि तमोर नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दा लामो समयदेखि यातायात सुविधाबाट वञ्चित हुँदै आएका थिए। यही समस्यालाई मध्यनजर गर्दै करिब ९० हजार रुपैयाँ खर्च गरेर काठको अस्थायी पुल निर्माण गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो।

काठे पुल निर्माणका लागि तमोर इनर्जी प्रालिले आवश्यक एक्साभेटर उपलब्ध गराएर सहयोग गरेको गाउँपालिकाले जनाएको छ। अध्यक्ष लिम्बूका अनुसार तमोर नदीकै छिरुवा खण्डमा पनि यस्तै प्रकारको मोटर गुड्ने अस्थायी पुल निर्माण गर्ने तयारी भइरहेको छ।
तापेथोक बगरमा काठे पुल बनेपछि सर्वसाधारण नागरिक, स्थानीय व्यवसायी र सेवा प्रवाहमा संलग्न निकायलाई आवतजावतमा सहजता मिलेको छ। दुर्गम तथा विकट क्षेत्रका रूपमा परिचित फक्ताङलुङ गाउँपालिकाले विगतका वर्षहरूदेखि नै हिउँद याममा तमोर नदीका विभिन्न स्थानमा अस्थायी मोटरेवल पुल निर्माण गर्दै आएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
