काठमाडौं महानगरपालिका प्रमुखतर्फ लक्षित ओलीको भनाइ : चर्चित व्यक्ति नशामा
काठमाडौँ ,पुस १०
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा चर्चित भनिएका केही व्यक्तिहरू नै नशाको अवस्थामा भेटिनु चिन्ताको विषय भएको टिप्पणी गर्नुभएको छ। उहाँले यो अभिव्यक्ति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहतर्फ लक्षित रहेको बुझिने गरी दिनुभएको हो।
पार्टीको ११ औँ महाधिवेशनमा स्वयंसेवकका रूपमा खटिएका युवाहरुलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरूले सही कुरा नबुझ्नु, उचित आचरण नदेखाउनु र आफूलाई जिम्मेवार ढंगले प्रस्तुत गर्न नसक्नु देशका लागि चुनौती बनेको बताउनुभयो।अध्यक्ष ओलीले अत्यधिक चर्चामा ल्याइएका कतिपय व्यक्ति नशामा डुबेको अवस्थामा भेटिने गरेको उल्लेख गर्दै यस्ता प्रवृत्तिले समाजमा नकारात्मक सन्देश जाने धारणा राख्नुभयो। तर एमालेमा आबद्ध युवाहरू भने यस्ता दुर्व्यसनबाट टाढा रहेको उहाँको दाबी थियो।

महाधिवेशनका क्रममा स्वयंसेवकको भूमिका निर्वाह गरेका युवाहरूको कार्यसम्पादनको प्रशंसा गर्दै अध्यक्ष ओलीले उनीहरूले अनुशासन, जिम्मेवारी र आचरणको नमूना प्रस्तुत गरेको बताउनुभयो। स्वयंसेवकहरूले कुनै नियम उल्लङ्घन नगरेको र कसैका पक्षमा मत माग्ने कार्यसमेत नगरेको उहाँले उल्लेख गर्नुभयो।

“आज युवाहरूको व्यवहार र आचरण नै राष्ट्रिय सरोकारको विषय बनेको छ,” उहाँले भन्नुभयो, “तर हाम्रो पार्टीका युवाहरूले सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्।” साथै, दुर्व्यसनमा संलग्न व्यक्तिहरूले त्यो बानी त्यागे आफूलाई खुसी लाग्ने उहाँको भनाइ थियो।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
