नारायण नगरपालिकामा परम्परागत राडीपाखी उद्योग जोगाउन चुनौती - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सामाजिक

नारायण नगरपालिकामा परम्परागत राडीपाखी उद्योग जोगाउन चुनौती

दुल्लु , पुस १२

    दैलेख जिल्लाको सदरमुकामसमेत रहेको नारायण नगरपालिकाको वडा नं. १० भवानीमा पर्ने तौलिया गाउँ नगरपालिकाकै उत्तरी सीमा तथा सबैभन्दा अग्लो बस्तीका रूपमा परिचित छ। राडीपाखी उत्पादनका लागि छुट्टै पहिचान बनाएको यस गाउँमा करिब एक सय घरधुरी रहेका छन्, जसमा अधिकांश परिवार राडीपाखी उत्पादनमै संलग्न छन्।

5-1767094523.PNG
    यहाँका प्रायः घरधुरीले २०–२५ देखि एक सयभन्दा बढी भेडा र बाख्रा पालेका छन्। साथै गाई, भैंसी र कुखुरा पालन पनि उल्लेख्य छ। वर्षेनी लाखौँ रुपैयाँ बराबरको राडीपाखी तथा पशुपालनबाट आम्दानी गर्दै आएका स्थानीय उद्यमीहरू हाल भने गम्भीर समस्यामा परेका छन्।

1-1767094517.PNG
   बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन हुनु, उत्पादनको मूल्य समयानुकूल समायोजन नहुनु, बजारीकरणको अभाव र यान्त्रिकरणतर्फ ठोस पहल नहुनुजस्ता कारणले स्थानीय उद्यमीहरू निराश बन्दै गएका छन्। परिणामस्वरूप श्रम र मिहिनेतले तयार गरिएका उत्पादन गाउँमै थन्किने अवस्था आएको छ।

2-1767094505.PNG
    बलियो, आकर्षक र स्वास्थ्यवर्धक भएकाले राडीपाखीको अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो माग रहेको उद्यमीहरू बताउँछन्। उचित ब्रान्डिङ गर्न सके उच्च मूल्यमा बिक्री हुनसक्ने सम्भावना भए पनि हालसम्म त्यसतर्फ प्रभावकारी कदम चालिएको छैन। पूर्ण रूपमा स्थानीय कच्चा पदार्थमा आधारित भएकाले राडीपाखी उत्पादनले उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने स्थानीयको भनाइ छ।

4-1767094486.PNG
    अहिलेसम्म परम्परागत शैलीमै उत्पादन हुँदै आएको छ। हातबटाउन, आधुनिक उपकरण प्रयोग र सीप विकासका लागि सम्बन्धित निकायबाट अपेक्षित सहयोग नपाएको उद्यमीहरूको गुनासो छ। स्थानीय उत्पादक लिलाबहादुर बस्नेत भन्छन्, “यो काम गर्दै पुस्ता बितिसक्यो, उत्पादन नगरी बस्न सकिँदैन।” अर्का उद्यमी तुलबहादुर बस्नेतका अनुसार भेडाबाख्राको हेरचाह गर्नुपर्ने भएकाले टाढासम्म बजार खोज्न जानसमेत समस्या छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक