कमलामाई र दुधौली नगरपालिकामा जाडोका कारण विद्यालय बन्द
सिन्धुलीमाढी, पुस १६
सिन्धुली जिल्लामा पछिल्ला केही दिनदेखि अत्यधिक जाडो बढेपछि दैनिक जनजीवन प्रभावित भएको छ। विशेष गरी बालबालिका तथा ज्येष्ठ नागरिक बढी प्रभावित भएका स्थानीयवासीले बताएका छन्।

चिसोको प्रभाव बढ्दै गएपछि कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। कमलामाई नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पुस १७ र १८ गते दुई दिनका लागि विद्यालय बन्द रहने जनाएको छ।

नगरप्रमुख उपेन्द्रकुमार पोखरेलका अनुसार उक्त विदा २०८२ सालको वार्षिक विदाबाट मिलान हुने गरी दिइएको हो। मौसममा सुधार आएपछि विद्यालयको पठनपाठन पुनः सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो। कमलामाई नगरपालिकाभित्र हाल प्राथमिक, आधारभूत र माध्यमिक तहका ८४ वटा सामुदायिक तथा २४ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन्।

त्यस्तै, दुधौली नगरपालिकाले पनि जाडोको अवस्था अझै गम्भीर बन्दै गएको भन्दै बुधबारदेखि अर्को सूचना जारी नभएसम्म सबै सामुदायिक र संस्थागत विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका कार्यबाहक प्रमुख चन्द्रकिशोर थारुका अनुसार यस अवधिको विदा पनि २०८२ सालको वार्षिक विदाबाट समायोजन गरिनेछ। दुधौली नगरपालिकामा हाल ६७ वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालय रहेका छन्।

जाडो बढेसँगै सदरमुकाम सिन्धुलीमाढी तथा आसपासका सडक र चोकहरूमा मानिसको आवतजावत उल्लेख्य रूपमा घटेको छ। स्थानीय जीवन पाल्पालीका अनुसार लगातार दुई दिनदेखि घाम नलाग्दा चिसो झनै बढेको छ। “मङ्गलबार दिनभर घाम देखिएन, बुधबार पनि उस्तै अवस्था छ। यस वर्षकै सबैभन्दा बढी जाडो अहिले महसुस भइरहेको छ,” उहाँले भन्नुभयो।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
