वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बाक्लो हिमपात, मुस्ताङ–डोल्पा मार्ग अवरुद्ध
मुस्ताङ, पुस २२
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत साङ्ता गाउँ आसपासका क्षेत्रहरू बाक्लो हिमपातले पूर्ण रूपमा ढाकिएका छन्। वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई सडक सञ्जालले जोड्ने साङ्ता क्षेत्रका सडक र भिरपाखा सेताम्मे बनेका हुन्।

सदरमुकाम जोमसोमबाट पाक्लिङ, फलेक हुँदै साङ्ता गाउँ पुग्ने करिब ४० किलोमिटर सडक खण्ड तथा साङ्ताबाट याकखर्क हुँदै डोल्पा सिमानासम्म जाने ३५ किलोमिटर मार्गमा बाक्लो हिउँ जमेपछि सवारीसाधन मात्र होइन, पैदल यात्रा समेत कठिन भएको स्थानीय छेवाङ गुरूङले बताउनुभयो। “हिउँले बाटो पुरिँदा छिमेकी जिल्ला डोल्पा जान अब सम्भव छैन, फागुन अन्त्यतिर मात्र अवस्था सहज हुने अपेक्षा छ,” उहाँले भन्नुभयो।

हिमपात नहुँदासम्म ट्याक्टरमार्फत सामान ढुवानी गरी भरियाबाट डोल्पा पठाइने गरे पनि अहिले हिउँ पन्छाउनै समस्या भएको छ। समुद्री सतहदेखि करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको साङ्ता गाउँ जाडोयाम सुरु भएसँगै सुनसान बनेको छ। स्थानीय बासिन्दा जाडो छल्न फलेक धाकारजुङ, पाक्लिङ, जोमसोम, पोखरा तथा काठमाडौँतर्फ सरेका छन्। १३ घरधुरी र करिब ७० जनसङ्ख्या रहेको साङ्ता गाउँमा अहिले गोठालाहरूले मात्र पशुचौपायाको हेरचाह गरिरहेका छन्। मङ्सिरदेखि नै बस्ती खाली भएको वडा अध्यक्ष सुरेन्द्र गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार, मध्य फागुनसम्म हिमपात रोकिएपछि मात्र स्थानीय बासिन्दा गाउँ फर्कने सम्भावना छ।

भौगोलिक विकटता र कठोर मौसमका कारण यहाँका बासिन्दा वर्षको करिब पाँच महिना गाउँ छाडेर बस्ने गरेका छन्। यो क्षेत्र लोपोन्मुख हिउँ चितुवालगायत विभिन्न बन्यजन्तुको बासस्थानसमेत हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका संरक्षण सहायक दिपक ओलीका अनुसार हिउँ चितुवा निगरानीका लागि साङ्ता आसपास सात वटा क्यामेरा ट्र्याप जडान गरिएको छ।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
