रत्ननगर पालिकामा घडियाल गोहीको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ
चितवन,२३ पुस
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अतिसङ्कटापन्न घडियाल गोहीको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। गत पुस ३ गते रत्ननगर नगरपालिका – ८ स्थित चित्रसारी पुल नजिक बूढीराप्ती खोलामा माछा मार्न प्रयोग गरिएको तियारी जालमा बेरिएको करिब १० वर्ष उमेरको घडियाल गोहीलाई निकुञ्जको संरक्षण टोलीले सकुशल उद्धार गरेको थियो।
नदीजन्य पारिस्थितिक प्रणालीको सूचक प्रजातिका रूपमा चिनिने घडियाल गोहीलाई असर पुग्ने गरी माछा मार्नु कानुनविपरीत भए पनि यस्ता गतिविधि अझै रोकिएका छैनन्। कतिपय अवस्थामा समयमै उद्धार सम्भव भए पनि धेरै घडियाल अकालमै ज्यान गुमाइरहेका छन्। निकुञ्ज प्रशासनले बारम्बार सचेतना अभियान सञ्चालन गर्दै आए पनि चुनौती यथावत् रहेको छ। अनियन्त्रित माछा मार्ने कार्य, बालुवा–गिट्टी उत्खनन, फोहर व्यवस्थापनको अभाव र प्रदूषणले घडियालको प्राकृतिक बासस्थान झनै जोखिममा परेको छ। शान्त स्वभावको यो सरिसृप प्राणीको मुख्य आहार माछा हो। हाल चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका राप्ती र नारायणी नदीलाई घडियालका प्रमुख बासस्थान मानिन्छ। विगतमा महाकाली, कर्णाली, बबई, कालीगण्डकी र सप्तकोशी नदीमा समेत पाइने घडियाल पछिल्लो समय ती क्षेत्रमा क्रमशः लोप हुँदै गएका छन्।

बर्खायाममा आउने बाढीले घडियाललाई भारततर्फ बगाएर लैजाने र बाँध तथा नदीको बहाव परिवर्तनका कारण पुनः फर्कन कठिन हुने गरेको छ। साथै, प्राकृतिक वातावरणमा आएको परिवर्तनले पनि घडियालको अस्तित्वलाई चुनौती दिएको संरक्षणकर्मीहरू बताउँछन्। घडियाललाई घाम ताप्न र अण्डा पार्न नदी किनारको समथर बालुवायुक्त स्थान आवश्यक पर्छ। फागुन–चैततिर पारिएका अण्डा मानिसले संकलन गर्ने, मासु तथा छालाका लागि गोही मार्ने जस्ता गतिविधिले यस प्रजाति थप संकटमा परेको छ। तापक्रमका आधारमा भाले–पोथी निर्धारण हुने भएकाले भाले घडियालको सङ्ख्या न्यून रहनु अर्को समस्या हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार यस वर्ष मङ्सिरमा गरिएको अवलोकनमा राप्ती र नारायणी नदीमा नौवटा भाले घडियाल भेटिएका छन्। अघिल्ला वर्षको तुलनामा भालेको सङ्ख्या बढ्नु संरक्षण प्रयासको सकारात्मक परिणाम भएको उहाँको भनाइ छ।घडियाल संरक्षणका लागि सन् १९७८ देखि निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ। केन्द्रमा हुर्काइएका घडियाल पाँच वर्षसम्म संरक्षणपछि आफैँ आहार खोज्न सक्षम भएपछि प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ। चैत–वैशाखमा नदी किनारबाट सङ्कलन गरिएका अण्डा कृत्रिम ह्याचरीमा राखी बच्चा उत्पादन गरिन्छ।

कसरास्थित प्रजनन केन्द्रकी प्रमुख सुजिता श्रेष्ठका अनुसार एकपटकमा १५ देखि ६० वटासम्म अण्डा संकलन गरी ह्याचरीमा राखिन्छ। “यस आर्थिक वर्षमा मात्रै ५२ वटा घडियाल नदीमा छाडिसकेका छौँ,” उहाँले जानकारी दिनुभयो। तापक्रमअनुसार ह्याच गरिएका अण्डाबाट भाले वा पोथी जन्मिने व्यवस्था मिलाइन्छ। हाल प्रजनन केन्द्रमा ७१७ वटा घडियाल छन्, जसमा अधिकांश बच्चा घडियाल रहेका छन्। केन्द्रमा भाले घडियालको सङ्ख्या सीमित भएकाले दीर्घकालीन प्रजनन रणनीतिबारे छलफल भइरहेको निकुञ्जले जनाएको छ।

यस वर्ष गरिएको गणनाअनुसार राप्ती र नारायणी नदीमा ३६६ वटा घडियाल भेटिएका छन्। संरक्षण केन्द्रबाट हालसम्म देशका विभिन्न नदीमा दुई हजारभन्दा बढी घडियाल छाडिएको भए पनि बाढी, जालमा अल्झिने र अन्य कारणले अपेक्षित रूपमा सङ्ख्या वृद्धि हुन सकेको छैन।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
