व्यास पालिकामा ठडिए मगर, दरै र कुमाल समुदायका पहिचान घर - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

व्यास पालिकामा ठडिए मगर, दरै र कुमाल समुदायका पहिचान घर

तनहुँ, पुस २३ 

  आधुनिक कङ्क्रिट संरचनाले ग्रामीण भेगका मौलिक घरहरू ओझेलमा पर्दै गएका बेला तनहुँको सदरमुकाम दमौलीमा भने परम्परा र पहिचान झल्काउने दृश्य देखिन थालेको छ। पुस २४ गतेदेखि सुरु हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवको तयारीसँगै मगर, दरै र कुमाल समुदायका परम्परागत नमूना घर यहाँ ठडिएका छन्।

2-1767787389.jpg
     व्यास नगरपालिका–३ स्थित खुला मैदानमा निर्माण गरिएका यी घरहरूले महेन्द्र शालिक परिसरलाई जीवित सांस्कृतिक थलोमा रूपान्तरण गरेका छन्। माटो, बाँस र काठ प्रयोग गरी बनाइएका संरचना केवल आवासका नमूना मात्र नभई आदिवासी जनजातिको इतिहास, संस्कृति र जीवनशैलीका प्रतीकका रूपमा प्रस्तुत गरिएका छन्।

1-1767787416.JPG
    नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा हुन लागेको महोत्सवमा जिल्लाका १३ भन्दा बढी जनजाति समुदायको सहभागिता रहने भए पनि स्थानको सीमितताका कारण यसपटक तीन प्रमुख समुदायका मौलिक घरलाई विशेष आकर्षणका रूपमा राखिएको हो। नमुना घरभित्र प्रवेश गर्दा आधुनिक सहरको कोलाहलबाट टाढा, दशकौँ पुरानो ग्रामीण जीवनमा पुगेको अनुभूति हुन्छ। भित्तामा झुन्ड्याइएका कृषि औजार, माटोका घ्याम्पा, काठका ठेकी र बुनाइ सामग्रीले पुर्खाको श्रम, सीप र सिर्जनशीलताको कथा बोलिरहेका देखिन्छन्।

3-1767787423.jpg
    सांस्कृतिक घर निर्माण समितिका संयोजक क्याप्टेन सोमबहादुर थापाका अनुसार करिब ३० हजार रुपैयाँको लागतमा तयार पारिएका यी संरचनाको वास्तविक मूल्य पैसाभन्दा धेरै सांस्कृतिक पहिचान र अमूर्त सम्पदासँग जोडिएको छ। यसले पर्यटकलाई आकर्षित गर्नुका साथै नयाँ पुस्तालाई आफ्ना पुर्खाको जीवनशैली बुझ्ने खुला पाठशालाको काम गर्ने उहाँको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार